सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको निधन भएको छ। ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा उनको निधन भएको हो।
उनका छोरा दिलीप साहका अनुसार अध्यक्ष साह लामो समयदेखि मुटु र दमसम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही समयदेखि काठमाडौंमा राखेर उपचार गराइएको थियो।
अस्पतालमा स्वास्थ्यमा केही सुधार भएपछि मंगलबार मात्रै उनलाई कोठामा ल्याएर राखिएको थियो। तर, बुधबार बिहान अचानक हृदयाघात हुँदा उनको निधन भएको छोरा दिलीपले जानकारी दिए। साहको पार्थिव शरीर आजै गृहजिल्ला सर्लाही ल्याउन लागिएको छ। पारिवारिक स्रोतका अनुसार अहिले साँझसम्म अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।
साह ०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनले गाउँपालिका शोकमा डुबेको छ।