लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष एवं गायिका आनी छोइङ डोल्माको बैंक खातामा आएको शंकास्पद १६ लाख अमेरिकी डलरबारे छानबिन भएको थियो । जुन रकमलाई राष्ट्र बैंकले नै शंकास्पद मानेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न पत्राचार गरेको थियो । उक्त छानबिन पनि दबाबको भरमा रोकेर खाता फुकुवा गरियो । जुन विषयमा अहिले पनि अनुसन्धान हुन सक्ने विभागका अधिकारी बताउँछन् ।
आनीको मेगा बैंक (हाल इन्भेष्टमेन्ट मेगा)मा रहेको खाता नम्बर ००१००५००३९४२४ मा ०७५ को असार २६, २७ र २८ गते हङकङबाट स्रोत नखुलेको डलर आएको थियो । २६ असारमा पाँच लाख ७९ हजार ९८०, २७ असारमा पाँच लाख ३९ हजार ९८० र २८ असारमा पाँच लाख २९ हजार ९८० अमेरिकन डलर आएको थियो ।
सो डलर शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । अनुसन्धान चलिरहेकै वेला रकमको चित्तबुझ्दो स्रोत देखाउन नसके पनि उच्चस्तरबाट आएको दबाबपछि अनुसन्धान तामेलीमा राखिएको थियो ।