काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।
कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण तथा दुई देशका सुरक्षा निकायबिच सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी बैठकमा भारतीय पक्षको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा मानव तस्करी, लागुऔषध ओसारपसार, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण, दशगजाको अतिक्रमण हटाउने र सीमास्तम्भको संरक्षण तथा मर्मतसम्भारका विषयमा छलफल हुनेछ।
त्यसैगरी, सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, आधुनिक प्रविधिको प्रयोग, विपत् पूर्वतयारी तथा प्रतिकार्यमा सहकार्य र सीमानाकामा यात्रु सहायता कक्ष स्थापना गर्ने विषयलाई पनि प्राथमिकता दिइनेछ।
बैठकले नेपाल–भारत सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सदभाव कायम गर्दै दुवै देशका सुरक्षा निकायबिच आपसी विश्वास, समन्वय र सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।