- प्रदेशसँग समन्वय नगरी महानगरपालिका र जिल्ला प्रशासनले मापदण्ड बनाएको कार्कीको आरोप
विराटनगर/ मोरङ जिल्ला प्रशासन र विराटनगर महानगरपालिकाले रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय सञ्चालनका लागि कडा मापदण्ड लागू गरेपछि कोशी प्रदेश सरकारसँग समन्वय र क्षेत्राधिकारको विवाद फेरि सतहमा आएको छ । प्रदेश सरकारसँग पर्याप्त छलफल र समन्वय नगरी रात्रिकालीन व्यवसायलाई नियन्त्रण गर्ने गरी आफूखुसी महानगरपालिका र प्रशासनले कडा मापदण्ड लागू गराएको भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री कार्कीले स्थानीय प्रशासनले प्रदेश र स्थानीय सरकारसँग समेत परामर्श गरेर निर्णय गर्नुपर्ने भन्दै रात्रिकालीन व्यवसायमा लगाइएको समयसीमाले पर्यटन क्षेत्र र व्यवसायीलाई नकारात्मक असर पार्न सक्ने बताएका छन् । उनले पर्यटक तथा नागरिकलाई राज्यले २४सै घण्टा सेवा र सुरक्षा दिनुपर्नेमा रात्रिकालीन मनोरञ्जन र होटेल खोल्नुपर्ने समय निश्चित मापदण्ड गलत भएको तर्क गरेका छन् । ‘पर्यटक बिहान, दिउँसो र राति जुनसुकै वेला आउन र जान सक्छन् । अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा खुला हुन्छन् । राति अबेरसम्म सञ्चालन हुने घरेलु विमानस्थल पनि छन् । हाम्रो विराटनगर विमानस्थलमा पनि राति अबेरसम्म उडान र अवतरण हुने गर्छ, यसैले राति १० बजे नै होटेल बन्द गर्नुपर्ने मापदण्ड गलत छ,’ उनले भने ।
मुख्यमन्त्री कार्कीले छिमेकी भारतका सीमावर्ती सहरमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ८–९ बजे ओर्लिएका पर्यटक राति १० बजेपछि नेपालका सीमावर्ती सहरमा आइपुग्न सक्ने भन्दै त्यस्ता पर्यटकलाई नेपाल प्रवेश नगर्न भन्न नसकिने बताए । साँझ ८–९ बजे विमानस्थलमा ओर्लिएका पर्यटक वा यात्रु हाम्रा सहरमा राति १० बजेदेखि बिहानसम्म आइपुगे भने के भन्ने ? तपाईँहरू हाम्रो देश वा सहर नआउनुस् भन्ने हो ? वा देशभित्रकै सडक यातायातबाट राति आइपुग्ने व्यक्तिलाई गाडीबाट नओर्लिनुस् भन्ने हो ?’ उनले जिल्ला प्रशासन मोरङ र विराटनगर महानगरपालिकालाई प्रश्न गरे ।