विराटनगरवासीको स्वच्छ खानेपानीको सपना १४ वर्षपछि पूरा हुँदै

जाइकाको दुई अर्ब ५४ करोड अनुदानमा बनेका दुई परियोजना अन्तिम चरणमा

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

विराटनगर- शुद्ध खानेपानीका लागि १४ वर्षदेखिको विराटनगरवासीका सपना पूरा हुने भएको छ । विराटनगरमा नयाँ परियोजना निर्माण सम्पन्न भएसँगै स्वच्छ खानेपानीको सपना पूरा हुने भएको हो । कोलिफर्मनामक हैजाका जीवाणुरहित शुद्ध खानेपानी वितरणका लागि विराटनगरमा साढे दुई अर्ब लागतको परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को दुई अर्ब ५४ करोड रुपैयाँ अनुदानमा विराटनगरमा सञ्चालित खानेपानी परियोजना अन्तिम चरणमा पुगेको हो ।

नेपाल खानेपानी संस्थान विराटनगरका अनुसार परियोजनाअन्तर्गतको मुख्य निर्माण कार्य सम्पन्न भइसकेकाले अब एक महिनाभित्र हस्तान्तरण हुनेछ । नयाँ परियोजना हस्तान्तरण भएर पानी वितरण सुरु भएपछि ०३७ मा निर्माण भएको विराटनगर खानेपानी आयोजनाको पुरानो संरचनामा आमूल परिवर्तन आउनेछ । विराटनगर नगरपालिका भएका वेला निर्माण भएको चार दशकभन्दा पुरानो खानेपानी प्रणालीले मात्र महानगरपालिकासम्म आइपुग्दा विराटनगरको उपभोक्ताको माग पनि धान्न सकेको थिएन भने पाइपलाइनसमेत ध्वस्त बन्दै गएका थिए ।

खानेपानीको बढ्दो माग आपूर्ति गराउन विराटनगरमा उपभोक्ताको सक्रियतामा उत्तर पुष्पलाल चौकमा मानगढ, पश्चिम जामुनगाछी र दक्षिणमा बखरीमा सामुदायिक खानेपानी आयोजना पनि सञ्चालनमा ल्याएको थियो । तैपनि विराटनगरको देवकोटा चोक, हाटखोला, सरौचिया, पोखरिया, तीनटोलिया, ट्राफिक चोक, रोडशेष चोक, जनपथ टोल, हाटखोलालगायत मुख्य क्षेत्रमा बढ्दो जनसंख्याको माग धान्न नसक्ने अवस्थामा पुगेको थियो । यसैले खानेपानीकै कारण विराटनगरमा ०७०/७१ मा जन्डिसको संक्रमण फैलिएपछि तत्काल सरकारले जाइकाको अनुदान सहयोगमा दुई अर्ब ५४ करोड रुपैयाँबराबरको अनुदानमा देवकोटा चोकस्थित विराटनगर खानेपानी आयोजनासँग परियोजना सम्झौता गरेको थियो ।

विराटनगरमा नयाँ शुद्ध खानेपानी परियोजनाका लागि २६ फागुन ०७८ मा नेपाल सरकार र जापानबिच अनुदान सम्झौता भएको थियो । १४ असार ०८१ मा शिलान्यास भएको परियोजना १४ कात्तिक ०८३ मा सम्पन्न गर्ने अवधि थियो । परियोजना सम्झौताअनुसार विराटनगरको पुरानो खानेपानी प्रणाली परिवर्तन गर्न तीनवटा पुराना पम्पिङ स्टेसनको सुधार गर्ने, विराटनगर– ५ मा नयाँ पम्पिङ स्टेसन निर्माण गर्ने, पानी प्रशोधन तथा रिजर्भ ट्यांकी र ओभरहेड ट्यांकी निर्माण गरी वितरणका लागि नयाँ पाइपलाइन विस्तार गर्नेलगायत थियो ।

खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको अधिकांश निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भइसकेका छन् । अब विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती कामसमेत छिट्टै सम्पन्न गरेर परियोजना हस्तान्तरण गराएर एक महिनाभित्रै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी विराटनगर खानेपानी आयोजनाको छ ।

अशुद्ध खानेपानीकै कारण तीन महिनासम्म जन्डिसको महामारी 
विराटनगरमा करिब ५० वर्ष पुरानो खानेपानी प्रणालीले गर्दा नियमित पानी आपूर्तिमा समस्या हुने, आपूर्ति भएको पानी पनि दूषित भएकाले संक्रमण फैलने जोखिम थियो । खानेपानीको पाइपमा ढल मिसिँदा ०७०/७१ मा आपूर्ति भएको दूषित खानेपानीकै कारण विराटनगरमा ०७१ वैशाखदेखि साउनसम्म जन्डिसको संक्रमण फैलिएको थियो । विभिन्न ठाउँबाट लिइएका पानीका नमुनामा उच्च मात्रामा कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको अभिलेखअनुसार त्यसवेला दुई हजार ७८९ जना जन्डिसका बिरामी दर्ता भएका थिए । जसबाट १४ जनाको मृत्यु भएको थियो । सडक निर्माण तथा मर्मतका क्रममा खानेपानी र ढलका पाइप क्षतिग्रस्त भएकाले वितरण भएको खानेपानीमा ढल मिसिएको थियो ।

दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने
खानेपानी संस्थान विराटनगरका अनुसार परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता बढ्नेछ । हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिनेछ ।

नयाँ परियोजना परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ । विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर– ५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकीसमेत निर्माण गरिएको छ । पाइपलाइन तथा फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने संस्थानको अपेक्षा छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि उपभोक्ताले नियमित र गुणस्तरीय खानेपानी पाउने संस्थानको दाबी छ । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार दुई सय ग्राहक छन् ।

परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन सहज हुने आयोजना प्रमुख रौनियार बताउँछन । महानगरपालिकाको आर्थिक वर्ष ०८२/८३ को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएअनुसार विराटनगरमा जम्मा ५६ हजार ९१९ घरधुरी छन् ।

जसमा आधारमा २९.७ प्रतिशतले मात्र शुद्ध खानेपानी पाएका छन् । ६० प्रतिशतले अझै चापाकलको पानी पिउँछन् । जार र बोतलको पानी पिउन विराटनगरवासी करिब ६ प्रतिशत मात्र छन् । 

सुझावित समाचार