मन्त्री रावलसमक्ष सहकारीपीडितको गुनासो : बिरामी हुँदा उपचार गर्न पाइएन,हाम्रो बचत कहिले फिर्ता हुन्छ ?

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
मन्त्री रावलसमक्ष सहकारीपीडितको गुनासो : बिरामी हुँदा उपचार गर्न पाइएन,हाम्रो बचत कहिले फिर्ता हुन्छ ?

झापाको दमकमा सहकारीपीडितको गुनासो सुन्दै सहकारीमन्त्री प्रतिभा रावल ।

झापा- झापाको दमक नगरपालिका– ३ का विश्वेश्वर दुलालले साह्रोगाह्रोमा चाहिन्छ भनेर दमककै हिमाञ्चल बचत तथा ऋण सहरकारी संस्थाका ३९ हजार बचत गरेका थिए । तर, यो सहकारीले अहिले उनको बचत फिर्ता गरेन । अहिले उनकी श्रीमती बिरामी छिन् । तर, दुःख गरेर कमाएर राखेको पैसाले श्रीमतीको उपचार गर्न पाएनन् । ‘श्रीमतीलाई शरीरमा रगतको कमी छ । तीन–तीन महिनामा रगत चढाउनुपर्छ,’ उनले भने, ‘एकपटकमा सात हजारसम्म सकिन्छ । तर, मसँग अहिले पैसा छैन । बचत गरेको पैसा सहकारीले खाइदियो । श्रीमती अहिले घरमा ओछ्यान परेकी छिन् ।’

सोमबार सहकारीपीडितको गुनासो सुन्न झापा आएकी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसमक्ष स्थानीय तहले समेत बेवास्ता गरेको गुनासो गरे । दमक नगरपालिकामातहत रहेको यो सहकारीबाट करिब ६ सय बचतकर्ता पीडित रहेको उनको भनाइ छ ।

आफूहरूको गुनासो लिएर दमक नगरपालिका पुग्दा गैरजिम्मेवार जवाफ पाएको उनले बताए । ‘नगरपालिकाको न्यायिक समिति र सहकारी शाखामा गइयो । बारम्बार छलफल पनि भयो । तर, स्थानीय तहबाट गैरजिम्मेवार जवाफ आयो,’ उनले भने, ‘तपाईँहरू सहकारी विभागमा गएर निवेदन दिनुस् कि त अदालत जानुस् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो । हामी बचतकर्ताले पैसा कहिले पाउँछौँ ?’

दमक नगरपालिका– ३ को हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारीले पनि यसरी नै किसान र बचतकर्ता ठगेको स्थानीय आरोप छ । दमक– ३ का नरेन्द्र गुरागाईंले दुधको ४० हजार र बचत तथा सेयरको ५० हजार गरी ९० हजार सहकारीबाट पाउनु छ । तर, पटकपटक पहल गर्दा पनि नदिएको उनी बताउँछन् । 
 

हम्सेदुम्सेबाट पीडित दमक– ३ का राजकुमार खड्काका अनुसार दुधकिसानको दुई हजारदेखि तीन लाखसम्म सहकारीले भुक्तानी गर्न बाँकी छ । एक सय ८८ जना सेयर सदस्यको ४४ लाख रुपैयाँ बचत तथा सेयर र दुग्ध किसानको २९ लाख ७५ हजार दुधको पैसा सहकारीले भुक्तानी गर्न बाँकी रहेको खड्का बताउँछन् ।

नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले संकटग्रस्त सहकारी घोषणा गरेको विराटनगर मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाले दमकका धेरै बचतकर्ताको बचत फिर्ता दिएको छैन । दमक– ५ का दधिराम खरेलले यो सहकारीमा ७५ लाख बचत गरेका थिए । छोरालाई विदेश पठाउन बचत गरेको रकम सहकारीमा डुबेको उनको गुनासो थियो ।

‘तुलसी सहकारी समस्याग्रस्त घोषणा भएपछि राज्यले सोच्यो, हाम्रो कर्तव्य पूरा भयो । पीडितलाई सन्तुष्ट बनायौँ भन्ने राज्यले सोच्यो । तर, हाम्रो समस्या ज्यूँका त्यूँ छ,’ उनले मन्त्री रावलसमक्ष गुनासो गरे, ‘मान्छेले मकै पोलेको, पानीपुरी बेचेको दिनको सय–दुई गरेर बचत गरेको पैसा डुबेको छ । उहाँहरूले बुढेसकालमा छोराछोरी पढाउन, बिरामी हुँदा उपचार गर्नका लागि भनेर पैसा राख्नुभएको थियो । बचतकर्तामध्ये कतिपय क्यान्सर भएर उपचार नपाएर बितेका छन् ।’ 

सहकारीपीडितको बचत फिर्ता गर्न सरकार लागिपरेको छ : मन्त्री रावल

सहकारीपीडितको गुनासो सुनेपछि मन्त्री प्रतिभा रावलले सहकारीपीडितले बचत फिर्ता पाउनुपर्ने बताइन् । यसका लागि सरकारले काम गरिरहेको उनको भनाइ छ । आफूहरूले चुनावताका गरेको वाचा नबिर्सिएको उनको दाबी छ ।

‘तपाईँहरूको पीडा सुन्न म यहाँ आएकी हुँ । तपाईँहरूले आफ्नो कुरा राख्ने क्रममा आफूले गरेका प्रतिबद्धता बिर्स्यौँ भन्नुभयो । हामीले तपाईँहरूसँग त्यो वेला गरेका एक–एक वाचा अक्षरशः पालना हुन्छ,’ उनले भनिन्, ‘सम्माननीय (प्रधानमन्त्री बालेन्द्र शाह)ज्यू यहीँबाट जितेर प्रधानमन्त्री हुनुभएको छ । जितेर किन आएन भनेर तपाईँहरूलाई लाग्न सक्छ । हाम्रो पहिलो वर्षको प्राथमिकता सुशासनको जग बसाल्ने हो । यसका लागि केही राष्ट्रिय योजना र प्राथमिकता छन्, जसमा काम गर्नुपर्नेछ । प्रधानमन्त्रीज्यू त्यसैमा काम गर्नुहुँदै छ । म आज प्रधानमन्त्रीले नै पठाएर भेट्न आएकी छु ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिप्रति सहकारीपीडितले असन्तुष्टि व्यक्त गरेपछि समितिका पदाधिकारीलाई तिहारअघि दमक पठाउने उनले प्रतिबद्धता जनाइन् । ‘समितिले काम गरेको तपाईँहरूलाई चित्त बुझेको छैन भन्नुभएको छ । तिहारअघि नै समितिका पदाधिकारी यहाँ आउनुहुन्छ,’ उनले भनिन् । 

सुझावित समाचार