ई–जिपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको विषयमा प्राप्त निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो।

अनुसन्धानबाट संलग्नता खुलेका तीनजनालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्युरोको प्रहरी टोलीले ०८३ कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले कात्तिक १६ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्। 

सुझावित समाचार