- बिजुली बत्ती र प्लास्टिकका सामग्रीको बढ्दो प्रयोगले माटाका भाँडाको बजार खुम्चिँदै, तिहारमा पनि दियो बिक्री नहुँदा कुमाल समुदाय निराश
विराटनगर- सुनसरीको बर्जु गाउँपालिका– ६ चिमडीका मुकेश पण्डित तिहारका लागि माटोका दियो, कलश, धुपदानीलगायत पूजामा प्रयोग हुने सामग्री बिक्री गर्न मोरङको टंकीचोकमा बसेका छन् । तर, तिहारका वेला उनले मिहिनेत गरेर बनाएका सामग्री बिक्री भएका छैनन् । एक सातादेखि दिनभरि पसल थापेर ग्राहकको प्रतीक्षामा बसेका उनी निराश छन् ।
मुकेशको मात्रै होइन, सुनसरीका बर्जु र देवानगन्ज क्षेत्रमा बसोवास गर्ने धेरै पण्डित (कुमाल) परिवारको अवस्था उस्तै छ । कुनै समय तिहार र छठमा माटोका भाँडा बिक्री गरेर राम्रो आम्दानी गर्ने उनीहरूका लागि अहिले पुर्ख्यौली पेसा धान्नै मुस्किल हुन थालेको छ । ‘पुर्ख्यौली पेसा भनेर मात्रै के गर्नु, मानिसले माटाका सामान किन्नै छाडे । सबैले प्लास्टिक र स्टिलका सामग्री प्रयोग गर्छन् । दियो पनि बिजुलीकै बाल्छन् । अब त गुजारा चलाउन अर्को पेसा नगरी सम्भव छैन,’ मुकेश भन्छन् ।
तिहारमा शुद्ध पूजाआजा गर्न माटाका दियो बाल्ने र पूजामा माटाकै भाँडाकुँडा प्रयोग गर्ने परम्परा छ । तर, आधुनिक जीवनशैलीसँगै विद्युतीय दियो, झिलिमिली बत्ती र प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटाका भाँडाको बजार खुम्चिँदै गएको छ । यसले कुमाल समुदायको पुर्ख्यौली सिप र पेसा दुवै संकटमा पारेको छ ।
सुनसरीको बर्जु, देवानगन्ज, इनरुवा, लौकही, हरिपुरलगायत क्षेत्रमा बसोवास गर्ने कुमाल समुदायका परिवार हरेक वर्ष तिहार र छठलाई लक्षित गरेर महिनौँअघिदेखि माटाका सामग्री बनाउन जुट्छन् । तर, बनाएका सामग्री बिक्री हुने निश्चित नहुँदा उनीहरूको मिहिनेत खेर जाने गरेको छ ।
बर्जु गाउँपालिका चिमडीका मुकेशका अनुसार पहिले चाडपर्वमा माटाका भाँडाको माग राम्रो थियो । अहिले विद्युतीय सामग्रीको प्रयोग बढेसँगै बिक्री घटेको छ । यसैले माटाका भाँडा बनाएर मात्रै परिवारको खर्च चलाउन र छोराछोरी पढाउन कठिन हुने गरेको छ ।
हिजोआज परम्परागत माटाका सामग्री बनाउन तराईका कुमालहरूलाई माटाका सामग्री बनाउन काँचो माटो पाउन पनि सकस पर्ने गरेको छ । उनीहरू एक ट्र्याक्टर माटोको १५ देखि २५ हजार रुपैयाँसम्ममा खरिद गर्छन् । त्यो माटोलाई छानेर पानीमा मुछेर, कुटेर आफ्नो सिप प्रयोग गरी मिहिनेतले बनाएका भाँडाकुँडा र दियो बिक्री हुँदैनन् ।
विराटनगरमा दियो बिक्री गर्न आएका देवानगन्जका दिनेश पण्डितका अनुसार दीपावली र छठका लागि उनीहरू पाला, घैला, दियो, धुपदानी, कलशलगायतका सामग्री बनाउँछन् । तर, हरेक वर्ष माटाका सामग्रीको बिक्री घट्न थालेपछि उनीहरूले परम्परागत पेसा छाड्दै जान थालेका छन् । ‘पहिले तिहारका लागि हामी पाँच लाखका भाँडा बनाउँथ्यौँ, अहिले त हजारका पनि बिक्री हुन छाडे । धन्न अलिअलि खेतीपाती छ मात्रै बाँचेका थियौँ, नत्र त बिजोग नै हुने थियो हाम्रो,’ दिनेशले भने ।
माटाका भाँडाकुँडा बनाउनु उनीहरूको व्यवसाय मात्र नभएर पुस्तैनी सिप पनि हो । यसैले धेरै पढेलेखेका युवाहरू पनि हत्तपत्त पुर्खाले हस्तान्तरण गरेको सिप छाडिहाल्न चाहँदैनन् । तर, पहिचानका लागि मात्रै भनेर पनि अब सिप धानिरहन गाह्रो भएको उनीहरूको भनाइ छ । विराटनगरको हनुमान चोकको पेटीमा पसल फिँजाएर ग्राहक पर्खिरहका हरिहर पण्डित भन्छन्, ‘पहिले त सबै पारिवारकै यही पेसा हुन्थ्यो, तर हिजोआज कोही पनि गर्न मान्दैनन् ।’ झिलिमिली बत्तीसहितको तिहार उज्यालो र समृद्धिको पर्व हो । तिहारमा घरघरमा दियो बालेर लक्ष्मीको स्वागत गर्ने परम्परा छ । तर, आयातीत बत्ती र प्लास्टिकका सामग्रीहरूले गर्दा तिहारको उज्यालो बेच्न बजारमा बसेका कुमाल परिवारको आफ्नै घरमा भने आर्थिक निराशा छाउन थालेको छ ।