जुवा खेलिरहेको अवस्थामा कौडासहित १५ जना पक्राउ

पक्राउ परेका व्यक्तिहरूबाट कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका– ४, पाख्रीबासमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले कौडासहित १५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार राति करिब २ बजे पाख्रीबास नगरपालिका– ४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इन्स्पेक्टर मयंक मिश्रको कमान्डमा प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार पाँच सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

यस्तै, पक्राउ परेका १५ जनाको साथबाट थप दुई लाख ९६ हजार आठ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी प्रहरीले जुवा खेलिरहेको स्थान र पक्राउ परेका व्यक्तिहरूबाट कुल तीन लाख १३ हजार तीन सय रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका– ६, फलाटेका ४२ वर्षीय बुद्धिमान राई र ६५ वर्षीय डिकबहादुर बस्नेत रहेका छन् । त्यस्तै, पाख्रीबास नगरपालिका– ८, मुगाका ३३ वर्षीय रञ्जित राई, ५३ वर्षीय सिंहराज घिसिङ, ३६ वर्षीय जीवन राई, ३४ वर्षीय दिनेश राई र ३८ वर्षीय नगेन्द्र राई रहेका छन् । 

त्यसैगरी पाख्रीबास नगरपालिका– ४, बुद्धचोकका ३९ वर्षीय रविकुमार राई, पाख्रीबासका ५२ वर्षीय लालबहादुर पाख्रिन, निरौला गाउँका ४८ वर्षीय राजकुमार निरौला, पाख्रीबासका ४६ वर्षीय पूर्णबहादुर गुरुङ, ४२ वर्षीय देवेन्द्र पौडेल र ४२ वर्षीया सुम्निमा लिम्बू पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका– १, हिलेका ५३ वर्षीय नन्दकुमार तामाङ र ५८ वर्षीय टीकाराम तामाङ पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
 

सुझावित समाचार