धनकुटामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैललगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न रोक लगाएको हो ।

प्रशासनले यस्ता कार्यक्रम सञ्चालन गर्दा मौलिक संस्कृतिको संरक्षण हुने गरी मर्यादित, अनुशासित र व्यवस्थित बनाउन तथा गीत–संगीत र ध्वनि उपकरणको आवाजलाई मर्यादित राख्न भनेको छ ।

साथै देउसीभैलो खेल्दा चन्दा नमाग्न पनि आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जिल्लावासीको नाममा जारी गरेको अनुरोधपत्रमार्फत जिल्लावासीलाई चाडपर्वका वेला शान्तिसुरक्षा, सामाजिक सदभाव र आपसी एकता कायम राख्न अपिल पनि गरेकी छिन् ।

प्रशासनले चाडपर्वका नाममा आतिसबाजी, पटाका, भुइँचम्पा, रकेट, बमलगायत विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यस्तै दियो, मैनबत्ती तथा विद्युतीय बत्ती प्रयोग गर्दा आगलागी र दुर्घटनाबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

चाडपर्वको बहानामा जबर्जस्ती चन्दा माग्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा तथा हुलदंगा गर्ने कार्य नगर्न, धार्मिक, जातीय तथा सामाजिक सदभावमा खलल पुग्ने गतिविधि नगर्न, गैरकानुनी जुवातास, चिठ्ठा तथा अनलाइन कारोबारका नाममा हुने ठगी नियन्त्रणमा सहयोग गर्न र सार्वजनिक स्थलमा भिडभाड तथा होहल्ला नगरी सभ्य तरिकाले पर्व मनाउन आग्रह गरिएको छ ।

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने तथा म्याद गुज्रिएका वस्तु बिक्री–वितरण नगर्न, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियम पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्वका समयमा स्वास्थ्य, आपूर्ति तथा अन्य आपतकालीन सेवा सञ्चालनमा राख्न र एम्बुलेन्स, स्वास्थ्यकर्मी, एक्स्काभेटर, क्रेन, सवारीसाधन तथा आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशसमेत दिइएको छ ।

प्रशासनको अनुरोधविपरीतका कार्य गरे वा गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

सुझावित समाचार