- पीडित परिवार आफन्त र छिमेकीको आश्रयमा, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता
ताप्लेजुङ/ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३ दोभान बजारका अग्निपीडितलाई चाडपर्वको खुसीभन्दा गुमेको घर, जलेको व्यवसाय र परिवारको भविष्यको चिन्ताले पिरोलेको छ । दुई साताअघि केही घण्टामै घर, पसल र वर्षौँको कमाइ खरानी बनेपछि उनीहरूका लागि यस वर्षको दसैँ उल्लासभन्दा बढी पीडा र अनिश्चितताको समय बनेको छ ।
६ वर्ष नपुग्दै दुईपटक भीषण आगलागीको चपेटामा परेको जिल्लाको दोस्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारका पीडित परिवार अहिले आफन्त र छिमेकीको आश्रयमा छन् । कतिपय जलेका सामान भग्नावशेष पन्छाउँदै छन् भने कतिपय बस्न मिल्ने घर सफा गरेर दैनिकी सामान्य बनाउने प्रयासमा छन् । तर, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने प्रश्नले उनीहरूलाई सताइरहेको छ ।
गत ८ असोजमा भएको आगलागीमा आठ परिवारका १० घर र १७ पसल जलेर नष्ट भएका थिए । आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । यसअघि १८ फागुन ०७७ मा भएको आगलागीमा ४९ घर जलेका थिए । ४० करोड रुपैयाँभन्दा बढी क्षति भएको थियो । दुवै घटनाबाट बजारमा भएको क्षति जोड्दा करिब ५५ करोड रुपैयाँभन्दा बढी पुग्छ ।
पहिलो आगलागीपछि बिस्तारै व्यापार–व्यवसायलाई पुरानै लयमा फर्काउँदै गरेका व्यवसायीलाई पछिल्लो घटनाले फेरि शून्यमा झारेको छ । घर र पसलसँगै जीविकोपार्जनको पुनर्स्थापना गर्ने हिम्मतसमेत कमजोर भएको छ । अग्निपीडित चन्द्रप्रसाद पौडेललाई आगलागीले पुरानो घाउ बल्झिएजस्तै भएको छ । व्यापारमा लगानी गरेर बनाएको सम्पत्ति फेरि गुमाउनुपरेको पीडा उनले सुनाए । ‘पटक–पटकको आगलागीले ठुलो पीडा दियो । व्यापार–व्यवसायमा लगानी गरेको थिएँ । करिब ६ करोडको लगानी भएको पसल सकिएको छ,’ उनले भने, ‘अब कसरी बस्ने, कहाँ जाने ?’
अर्का अग्निपीडित श्यामलाल खरेल दुईपटकको आगलागीबाट थला परेका छन् । पुनः व्यवसाय सुरु गर्ने तयारीमा रहेका वेला फेरि सर्वस्व गुमाउनुपरेपछि उनलाई अब कसरी उठ्ने भन्ने चिन्ता छ । ‘छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो । यसो तंग्रिँदै गर्दा फेरि आगलागीले सखाप पार्यो,’ उनले भने, ‘सरकारले दिने सामान्य राहतले हाम्रो समस्या समाधान हुँदैन । विनाब्याज ऋणको व्यवस्था गरिदिनुपर्छ ।’
दसैँमा परिवारसँग खुसी साट्ने र सामान्य चाडपर्व मनाउने चाहना पनि अग्निपीडितका लागि कठिन बनेको छ । दसैँतिहार मनाउने धोको आगलागीले अधुरै बनाएको छ । आगलागीको असर घर र व्यवसायमा मात्र सीमित छैन । बजारका सुनचाँदी पसलमा ग्राहकले धितो राखेका गरगहनासमेत जलेर नष्ट भएका छन् । अग्निपीडित व्यवसायीहरू आफ्नो सम्पत्तिभन्दा ग्राहकको धितो फिर्ता गर्नुपर्ने जिम्मेवारीले थप तनाव भएको बताउँछन् ।
फुङलिङ बजारपछि जिल्लाकै बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल छन् । तर, पटक–पटकको आगलागीले बजारको व्यापारिक भविष्य र बासिन्दाको सुरक्षित बसोवासमाथि प्रश्न उठाएको छ ।