भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की उपमण्डल, पुरानो बस स्ट्यान्ड क्षेत्रमा सोमबार राति भएको आगलागी तथा ग्यास सिलिन्डर विस्फोटमा ९ जना नेपाली नागरिकसहित १० जनाको ज्यान गएको छ।
प्राप्त जानकारीअनुसार रातको समयमा एक पसलमा अचानक आगलागी हुँदा त्यहाँ रहेका ग्यास सिलिन्डरहरू विस्फोट भएका थिए। विस्फोट अत्यन्तै शक्तिशाली भएकाले घटनास्थलमा ठूलो क्षति पुगेको र शव संकलन गर्न कठिनाइ भइरहेको छ।
मृतक नेपाली नागरिकहरू सल्यान जिल्ला, सिद्धकुमाख गाउँपालिका–२, टाकुरा निवासी दुई परिवारका सदस्य रहेको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए। घटनामा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ।
हाल हिमाचल प्रदेश प्रहरी तथा सुरक्षाकर्मीको टोली र नेपाली समाज भारत–हिमाचल प्रदेश राज्य समितिका प्रतिनिधिहरू घटनास्थलमा खटिएर उद्धार तथा शव संकलन कार्यमा संलग्न छन्।
घटनाप्रति नेपाली समाज भारत, केन्द्रीय समितिले गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना जनाएको छ। समितिले भारत सरकार, हिमाचल प्रदेश सरकार तथा सम्बन्धित निकायसँग मृतक परिवारलाई यथोचित क्षतिपूर्ति, राहत र आवश्यक सहयोग शीघ्र उपलब्ध गराउन माग गरेको छ।