तामाको तार बेचेर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालिन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौँका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमालका विरुद्ध आयोगले मंगलबार जनही १३ लाख ९३ हजार ६ सय तीन रुपैयाँ तीन पैसा बिगो र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
उनीहरूले ९०० मिटर तामाको तार बेचेर खाएको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगको छानबिनमा पनि उनीहरू दोषी देखिएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० एमएमका १७४ मिटर र १२० एमएमका ७४६ मिटर पिभिसी तार हराएको भनी केन्द्रका स्टोर प्रमुखले ५ वैशाख ०८० मा कार्यालय प्रमुख समक्ष निवेदन दिएको, निवेदनपछि १० वैशाख ०८० मा छानबिन कमिटी गठन गरिएको थियो ।
त्यसपछि केन्द्रको स्टोर फाँटमा रहेको रेकर्डअनुसार स्टोर फाँटबाट हराएको भनिएको तार ३० असोज ०७७ मा ट्रान्सफर भई जिन्सी आम्दानी बाँधिएको, हिनामिना भएको ७० एमएमकोे तार १७४ मिटर र १२० एमएमको तार ७४६ मिटर मौज्दात बाँकी रहँदा हराएको जानकारी स्टोरबाट प्राप्त भएको देखिएको थियो ।
आर्थिक वर्ष ०८०/०८१ को जिन्सी निरीक्षण प्रतिवेदनमा सामान नभेटिएको भनी उल्लेख गरिएको, छानबिन कमिटीले पेश गरेको प्रतिवेदनमा २१ फागुन ०७९ मा गेटपास नंम्बर २९४ बाट २८ मिटर तार खर्च काटी ठेकेदारले लगेको तर पछि उक्त परिमाणको तार मौखिक निर्देशनको आधारमा स्टोर फिर्ता गरिएको, उक्त स्टोर फिर्ता परिमाणको तार पनि नभेटिएको, हराएको तारहरूको परिमाण धेरै भएको हुँदा कम्पाउण्ड बाहिर लैजान मेशिन उपकरणहरुको प्रयोग भएको हुनुपर्ने अवस्था रहेकोले योजनाबद्ध तवरबाट काम भएको छानबिनबाट देखिएको थियो । ७० एमएको तारको मूल्य दुई लाख ६७१ रुपैयाँ २५ पैसा र १२० एमएमको तारको मुल्य ११ लाख ९२ हजार ९३१ रुपैयाँ ७८ पैसा गरी कुल १३ लाख ९३ हजार ६०३ रुपैयाँ परिमाणको तारहरू हराएको भन्नेसमेत व्यहोराको प्रतिवेदन देखिएपछि छानबिन कमिटीले बिगो असुलउपर गर्न सिफारिस गरेको थियो ।
कानुनी व्यवस्था विपरित केन्द्र प्रमुख सिंहले उत्तरदायित्व तथा जिम्मेवारी जानीबुझी पूरा गरेको नदेखिएको, स्टोर प्रमुख काफ्लेले मिलेमतोमा बदनियत राखी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी तथा नासेमासेको देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । उनीहरूले गैरकानूनी लाभ तथा नेपाल सरकार÷सार्वजनिक संस्था÷नेपाल विद्युत प्राधिकरणलाई हानिनोक्सानी पु¥याउने बदनियतले कार्य गरे गराएको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ दफा १७ बमोजिमको कसूर भएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।