जनरल नर्सिङ कार्यक्रम लागू गरेर पिसिएल तह ‘फेजआउट’ गर्ने तयारी

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

नर्सिङ कोटा कम भएको र त्यसले नर्सको माग पूर्ति गर्न नसक्ने देखिएको भन्दै आगामी वर्षदेखि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी, कक्षा ११ र १२ मा जुनसुकै विषय वा संकाय पढेका विद्यार्थीले पनि पढ्न पाउने, तीनवर्षे कार्यक्रम आगामी वर्षदेखि लागू गर्ने योजना 

नेपालमा नर्सिङ शिक्षामा नयाँ अभ्यास अपनाउने तयारी गरिएको छ । विदेशी मुलुकले नर्सिङ शिक्षामा अपनाउँदै आएको जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने चिकित्सा शिक्षा आयोगको तयारी छ । यो कार्यक्रम लागू गरेपछि स्वतः पिसिएल कार्यक्रम ‘फेजआउट’ गरिँदै लगिनेछ ।

यसअघि सञ्चालन हुँदै आइरहेको प्रणालीमा नर्सिङ कोटा कम भएको र त्यसले नर्सको माग पूर्ति गर्न नसक्ने देखिएको भन्दै आयोगले आगामी वर्षदेखि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आयोगका अनुसार जनरल नर्सिङ पढ्न कक्षा ११ र १२ मा जुनसुकै विषय वा संकाय पढेका विद्यार्थीले पनि पाउनेछन् । यो तीनवर्षे कार्यक्रमका रूपमा सुरु गर्ने तयारी भइरहेको छ । 

हाल नेपालमा एसइई उत्तीर्णपछि पिसिएल नर्सिङ, कक्षा ११ र १२ उत्तीर्णपछि बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ र बिएनएस नर्सिङ शिक्षा पढ्न पाउने व्यवस्था छ । तर, जनरल नर्सिङ पढ्न विद्यार्थी विदेश जाने गरेको र पिसिएल नर्सिङ कार्यक्रम विदेशी मान्यताअनुसारको नभएकाले आयोगले नयाँ कार्यक्रम लागू गर्न खोजेको हो । 

नयाँ कार्यक्रमबारे आयोगले सात महिनाअघि नै कार्यदल गठन गरेर अध्ययन गरिसकेको छ । यसबाहेक जनरल नर्सिङ कोर्स पढाउन पाठ्यक्रम पनि स्वीकृत भइसकेको छ । यो कोर्स कुन विश्वविद्यालयले चलाउने र कसरी चलाउने भन्नेबारे भने पूर्ण तयारी भइनसकेको आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका प्रमुख प्रा.डा. सुदीप आचार्यले बताए । ‘जनरल नर्सिङ कार्यक्रम नेपालमा आवश्यक छ । तर, यो कार्यक्रम यसै वर्षदेखि लागू गर्न सकिने अवस्था छैन । धेरै विषयमा छलफल पनि गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अर्को वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुन्छ ।’ 

विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्रै नर्सिङ शिक्षा पढ्न पाउने व्यवस्था रहेकाले नेपालमा पनि त्यसलाई अपनाउँदा उपयुक्त हुने प्रा.डा. आचार्यको भनाइ छ । आयोगले नयाँ कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्न नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदलले आयोगलाई नयाँ कार्यक्रम अर्थात् जनरल नर्सिङ कार्यक्रम सुरु गरेको पाँच वर्षपछि पिसिएल नर्सिङ कोर्स हटाउनुपर्ने सुझाव दिएको छ । यसअघि प्रभावकारी नभएको भन्दै आयोगले अनमी र सिएमएलगायतका कार्यक्रम हटाइसकेको छ ।

स्वास्थ्य मन्त्रालय, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीरादेवी निरौलाले नर्सिङ शिक्षामा गुणस्तरीयता र विश्वसनीयता कायम गर्न जनरल नर्सिङ कार्यक्रम उपयुक्त हुने बताइन् । ‘जनरल नर्सिङ कार्यक्रम सुरु गर्नु राम्रो हो, किनकि यो विदेशी स्ट्यान्डर्डअनुसारको हुन्छ,’ उनले भनिन्, ‘अहिले स्कुल तह भनेर कक्षा १२ सम्मलाई भनिएको छ, त्यसकारण नर्सिङ शिक्षा पनि स्कुल तहपछि सुरु गर्दा उपयुक्त हुन्छ, परिपक्वता पनि हुन्छ ।’ 

कम उमेर र कम परिपक्वताका कारण पिसिएल नर्सिङ गरेका नर्सलाई नेपालमा रोजगार पाउनसमेत कठिन हुने गरेको छ । कतिपय अस्पताल सो जनशक्ति दक्ष नभएको र कच्चा भएको भन्दै पिसिएल तह उत्तीर्णलाई रोजगार दिनसमेत आनाकानी गर्छन् । 

चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि उक्त ऐनको व्यवस्थाअनुसार सञ्चालन हुन नसक्ने अवस्था भएपछि कतिपय कलेजले पिसिएल नर्सिङ कार्यक्रम बन्द गरिसकेका छन् । कलेजहरू बन्द भएपछि पिसिएल नर्सिङ पढ्नेहरूको प्रतिस्पर्धा थप बढेको छ । कतिपय विद्यार्थी छिमेकी मुलुकहरूमा समेत गएर पढ्ने गरेका छन् । 

हाल नेपालमा सिटिइभिटीले पिसिएल नर्सिङका लागि दुई हजारवटा सिट मात्रै छुट्याएको छ । करिब ११ वटा कलेजमा यो कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । कोटा थोरै भएपछि विद्यार्थीबिच पिसिएल नर्सिङको पनि चर्को प्रतिस्पर्धा हुने गरेको छ । यस वर्षको पिसिएल कोटामा पढ्नका लागि दुई हजार सिटमा १८ हजार चार सयभन्दा बढीले आवेदन दिएको आयोगले जनाएको छ । 

तल्लो तहको नर्सिङ शिक्षामा अनावश्यक भिडभाड हुने गरे पनि त्यसको प्रभावकारितामा भने प्रश्न उठिरहेको छ । योग्यताको हिसाबले पनि पिसिएल गरेको जनशक्ति परिपक्व नहुने र चिकित्सकीय कार्यमा त्रुटि हुनेलगायत कारणले पनि उक्त कार्यक्रम हटाएर जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने आयोगको ठहर छ । यसो गर्दा विदेश पढ्न जानेको संख्या पनि कम हुने आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्री बताउँछन् । जनरल नर्सिङ कार्यक्रम सुरु गर्दा यसबाट पिसिएलमा ठाउँ नपाएकाले पनि ठाउँ पाउने काप्रीको भनाइ छ । 

त्यस्तै, नर्सिङ शिक्षाको उच्च शैक्षिक तहमा पनि विद्यार्थीको उत्तिकै चाप छ । आयोगका अनुसार हाल देशभर अनमीसहित एक लाख १६ हजार ४५४ जना नर्स छन् । तर, पछिल्लो समय नर्सिङ जनशक्ति बिदेसिने लहर बढेकाले पनि भविष्यमा चुनौती थपिने भन्दै विज्ञहरूले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।
 

See More On

सुझावित समाचार