इतिहास रच्दै लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

०५२ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गर्दै २७ कात्तिक ०७७ मा सचिव बनेकी लीलादेवी ३८ दिन मुख्यसचिवका रूपमा रहनेछिन्

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

मुख्यसचिव नियुक्त भएपछि लीलादेवी गड्तौलाले भनिन्–मैले निजामती सेवामा जागिर खाएँ । सचिवसम्म हुने त प्रक्रिया छन् । त्यसैअनुसार म आएँ । तर, मुख्यसचिवचाहिँ भइन्छ नै भन्ने हुँदैन । मुख्यसचिव ‘पिकअप’ हो । सचिवहरूमध्येबाट सरकारले मुख्यसचिव नियुक्त गर्ने हो । वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै मलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको थियो । अहिले मुख्यसचिवमै नियुक्ति दिएको छ । मलाई सुम्पेको जिम्मेवारीप्रति म सरकारलाई धन्यवाद दिन चाहन्छु । यस्तैमा हो सहयोग आवश्यक पर्ने । यसरी नै हो समावेशीकरणलाई मूर्त बनाउने । यद्यपि, छोटो समय छ, तोकिएको आफ्नो जिम्मेवारी पूरा गर्नेछु । 

नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक महिला मुख्यसचिव बनेकी छिन् । सरकारले कायममुकायम मुख्यसचिव रहेकै अवस्थामा लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

वर्तमान सरकार गठन भएको पहिलो मन्त्रिपरिषद् बैठकले गत ३१ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव गड्तौलालाई कायममुकायम सचिवको जिम्मेवारी दिएको थियो । उनै कायममुकायमलाई सरकारले पूर्ण जिम्मेवारीसहितको मुख्यसचिव नियुक्त गरेको हो । गड्तौला नेपालको प्रशासनिक इतिहासमै पहिलो महिला मुख्यसचिवको रेकर्ड कायम गर्न सफल भएकी छिन् ।

अघिल्ला मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेसँगै निलम्बनमा परेका थिए । अर्याल निलम्बनमा परेपछि उनी स्वतः निमित्तको जिम्मेवारीमा थिइन् । उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा सारेर वर्तमान सरकारले नै गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

सरकारले आफूलाई मुख्यसचिव नियुक्त गरेकामा उनले खुसी व्यक्त गरिन् । ‘मलाई सुम्पेको जिम्मेवारीप्रति म सरकारलाई धन्यवाद दिन चाहन्छु,’ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘यद्यपि, छोटो समय छ, तोकिएको आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।’ 

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकामा उनले सरकारप्रति आभार प्रकट गरिन् । सचिवसम्म हुने प्रक्रिया भएको र त्यसैबमोजिम आफू अघि बढेको तर, मुख्यसचिव हुने कुरा सरकारको मामिला भएकाले त्यसको जिम्मेवारी पाउँदा गौरवान्वित भएको प्रतिक्रिया उनले दिइन् । 

यसरी नै समावेशीकरण मूर्त हुने उनको भनाइ छ । ‘मैले निजामती सेवामा जागिर खाएँ । सचिवसम्म हुने त प्रक्रिया छन् । त्यसैअनुसार म आएँ । तर, मुख्यसचिवचाहिँ भइन्छ नै भन्ने हुँदैन । मुख्यसचिव ‘पिकअप’ हो । सचिवहरूमध्येबाट सरकारले मुख्यसचिव नियुक्त गर्ने हो । यस्तैमा हो सहयोग आवश्यक पर्ने । यसरी नै हो समावेशीकरणलाई मूर्त बनाउने,’ उनले भनिन् । 

मुख्यसचिव नियुक्त भएकामा प्रधानमन्त्री केपी ओलीले नै उनलाई बधाई दिएका छन् । बधाई दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलालाई ! आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !’ 

गड्तौला ०२३ मा तेह्रथुमको म्याङलुङमा जन्मिएकी हुन् । ०५२ मा शाखा अधिकृतबाट आफूले निजामती करिअर सुरु गरेको उनले बताइन् । त्यसपछि ०६३ मा उपसचिव र ०७० मा सहसचिव बनेकी थिइन् । २७ कात्तिक ०७७ मा उनलाई सरकारले सचिवमा बढुवा गरेको थियो । उनी कानुनतर्फको सचिव हुन् । 

तर, ३८ दिन मात्रै मुख्यसचिव रहनेछिन् गड्तौला 
सरकारले मुख्यसचिवमा नियुक्त गरे पनि गड्तौला लामो समय यो पदमा रहनेछैनन् । ५८ वर्षे उमेरहदका कारण उनी आगामी १५ भदौमा सेवानिवृत्त हुनेछिन् । मुख्यसचिवको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ । तर, तीनवर्षे कार्यकाल वा ५८ वर्षे उमेरहद जुन पहिला आउँछ, त्यसैबाट अवकाश हुने व्यवस्था छ । यसैबमोजिम उमेरहद पहिला आउँदा गड्तौला त्यसैबाट अवकाश हुनेछिन् । 

निजामती सेवामा महिलाको प्रतिनिधित्व २९ प्रतिशत, सात सचिव महिला
निजामती सेवामा महिलाहरूको प्रतिनिधित्व क्रमशः बढ्दै गएको देखिन्छ । निजामती किताबखानाको पछिल्लो तथ्यांकअनुसार अहिले निजामती सेवामा ८५ हजार ४५५ कर्मचारी कार्यरत छन् । त्यसमा पुरुष ६१ हजार १३ र महिलाको संख्या २४ हजार ४४२ छ । प्रतिनिधित्वका हिसाबले कुल कार्यरतको अनुपातमा महिलाको हिस्सा २८.६० प्रतिशत हुन आउँछ । 

त्यस्तै, अहिले निजामती सेवामा मुख्यसचिवसहित ७१ सचिवको दरबन्दी छ । त्यसमा मुख्यसचिव गड्तौलासहित सात सचिव छन् । महिला सचिवमध्ये उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सरिता दवाडी, परराष्ट्र मन्त्रालयकी सेवा लम्साल, महालेखापरीक्षक कार्यालयकी विन्दु विष्ट, नेपाल ट्रस्टको कार्यालयकी प्रमिलादेवी बज्राचार्य र गण्डकी प्रदेशकी प्रमुखसचिव लक्ष्मीकुमारी बस्नेत छन् । 

सचिवको वरिष्ठता क्रमको १०औँ नम्बरमा थिइन् गड्तौला 
मुख्यसचिवमा नियुक्त भएकी गड्तौला सचिवहरूको वरिष्ठता क्रमको १०औँ नम्बरमा थिइन् । सचिव पदमा नियुक्त भएको आधारको वरिष्ठता क्रमअनुसार अहिले जेष्ठतम् सचिवमा तोयनारायण ज्ञवाली छन् । यसपछि तोयम राया आउँछन् । तर, राया सचिवबाट राजीनामा दिएर महालेखापरीक्षकमा नियुक्त भइसकेका छन् । रायापछि क्रमशः रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा, सुदर्शन खड्का र मधुकुमार मरासिनी छन् । वरिष्ठताको १०औँ नम्बरमा भए पनि सरकारले उनलाई नै मुख्यसचिव नियुक्त गरेको छ । 

४० वर्षअघि पहिलो महिला सचिव बनेकी थिइन् चन्द्रकला
निजामती सेवामा पहिलो सचिव चन्द्रकला किरण थिइन् । सचिवपछि मुख्यसचिवमा आउन महिलालाई ४० वर्ष लागेको छ । किरणको गत २० वैशाखमा निधन भइसकेको छ । ९४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

२००५ सालमा निजामती सेवामा प्रवेश गरेकी किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिवमा ०४१ सालमा नियुक्त भएकी थिइन् । शिक्षासचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गरेकी थिइन् । किरण ०४६ सालमा सेवानिवृत्त भएकी थिइन् ।

योजना आयोगको उपाध्यक्षमा अधिकारी
प्रा.डा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन् । ०८० चैतमा योजना आयोगको सदस्य नियुक्त भएका अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्त गरेको हो । पाल्पाका अधिकारी त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् । सन् २०१० मा थाइल्यान्डको चुलालोङकर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनका अर्थशास्त्र, विकासका मुद्दाहरू र सार्वजनिक वित्तका क्षेत्रमा विभिन्न जर्नल तथा लेखहरू प्रकाशित छन् । 
 

सुझावित समाचार