सत्तारूढ दल एमाले र माओवादीको दबाबपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ६५ दिनमै सरकारबाट बाहिरिएको छ भने अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी भएको छ । केही दिनअघि यादव नेतृत्वको जसपा नेपालबाट अलग भई राईले आफ्नो नेतृत्वमा पार्टी बनाएका थिए ।
गत २७ फागुनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका यादवले सोमबार पदबाट राजीनामा दिएका छन् । उनीसँगै जसपा नेपालबाट वन तथा वातावरण राज्यमन्त्री बनेका दीपक कार्कीले पनि राजीनामा बुझाएका छन् । पार्टी विभाजनपछि नयाँ पार्टी जसपामा लागेका वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी भने सरकारमै छन् ।
१२ सांसद रहेको जसपा नेपाल विभाजित भएर सांसद राईको नेतृत्वमा सात सांसदले नयाँ पार्टी गठन गरेका थिए । राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता भइसकेको छ । राई संसदीय दलको नेता र सुडी उपनेता चयन भइसकेका छन् ।
यादव सरकारबाट बाहिरिएपछि जसपाका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । हसिना खान राज्यमन्त्री बनेकी छिन् । उनलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
जसपा नेपालका अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा दिएलगत्तै सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।
सत्तारूढ दल एमाले र माओवादीले जसपा नेपाललाई सरकारबाट फिर्ता हुन दबाब दिएका थिए । मधेश प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएर दबाब बढाएका थिए । यादवले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारी गरेपछि स्थिरताका लागि नयाँ पार्टी बनाउनुपरेको दाबी राई पक्षको छ । यादव अमेरिका भ्रमणमा रहेको वेला राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । यादव फर्किनुअघि नै आयोगले दल दर्ता गरेर प्रमाणपत्र दिइसकेको थियो ।
यादव स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी विभाजनबारे छलफल गरेका थिए । प्रचण्डले विभाजन दुखद रहेको भन्दै मिलेर जान भनेका थिए । त्यसपछि यादवले कार्यकारिणी समितिका उपलब्ध सदस्यको बैठक गरेर सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरे ।
तर, एमाले र माओवादीले बर्खास्तीसम्मको तयारी गरेपछि यादवले केन्द्रीय समिति बैठक राखेर सरकारबाट बाहिरिने निर्णय गरे । यादवले केही स्वार्थीलाई उपयोग गरेर सत्तारूढ दल एमाले र माओवादीले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । अब प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने यादवले बताए ।
स्रोतका अनुसार निर्वाचन आयोगले दल रोज्न दिएको समयसम्म यादव सरकारमै रहन चाहन्थे । तर, एमाले र माओवादीले दबाब बढाएपछि राजीनामा दिएर यादव पार्टी विभाजन गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगे । फुटेर गएकालाई कानुनविपरीत दर्ता गरी पार्टीको मान्यता दिएको भन्दै निर्वाचन आयोग र नयाँ पार्टी दर्ताका लागि निवेदन दिने सांसदहरूलाई रिटमा विपक्षी बनाइएको छ । रिटको पेसी २ जेठका लागि तोकिएको छ ।