
नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तास्वार्थका लागि सत्तारुढ पाँचदलीय गठबन्धन देश बेच्न पनि तयार भएको आरोप लगाएका छन्।
सत्तारुढ गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश-अंशमा बेच्ने ठोकुवा गर्दै ओलीले त्यसप्रति हरेक नेपालीलाई सजग बन्न आग्रहसमेत गरे।
‘अहिलेको गठबन्धन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छन्। सिँगै देशभन्दा पनि जसरी बजारमा तौलिएर बेच्न नसक्लान्, तर यिनीहरूले अंश–अंशमा बेच्छन्। देशको स्वाधीनता, सार्वभौमसत्ता स्वाभिमान एकैचोटी नभएर अंश अंशमा बेच्छन्,’ ललितपुरमा एमालेले आयोजना गरेको शुभकामना कार्यक्रममा ओलीले भने, ‘त्यसैले देशलाई अंश अंशबाट बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सक्रिय हुन जरुरी छ।’
गठबन्धन सरकारले देशमा महँगी, भ्रष्टाचार बढाएको आरोप लगाउँदै उनले कामचलाउ हैसियतमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँधली गर्नेतर्फ ध्यानकेन्द्रित गरेको पनि बताए।
‘अहिलेको सरकार महँगी त्यस्तै बढाएको छ केही टाठाबाठा जति बढाए पनि बोल्दैनन्, उनीहरूले जे बोल्यो, जति बोल्यो त्यही मात्रै थाहा हुने स्थिति छ,’ ओलीले भने, ‘हाम्रा पालामा दुई रुपैयाँ बढाउँदा उत्पात हुन्थ्यो। अहिले महँगीले आकाश छोएको छ तर कोही पनि टाठाबाठा बोल्दैनन्, नबोलेपछि जनतालाई केही थाहा नपाएजस्तो भएको छ।’
ओलीले सरकार आफैँले भुटानी शरणार्थीहरूलाई अमेरिका पुर्याउने धन्दा चलाएको, बिमा कम्पनीहरूको लाइसेन्स खोलेर चुनावी खर्च उठाउन भ्रष्टाचार गरिरहेको भन्दै त्यसप्रति नागरिक समाजसहित कसैको ध्यान नगएकोतर्फ ध्यानाकर्षणसमेत गराए।
‘लाखौँ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई अमेरिका उडाउने धन्दा सरकारले चलाइरहेको दाबी गरे। उनले भने, ‘यति नांगो सर्वत्र भ्रष्टाचार पहिले कहिल्यै थिएन, आर्थिक जीवनका हरेक क्षेत्रमा भ्रष्टाचार छ। माइक्रो इन्सुरेन्समा अर्को भ्रष्टाचार। हरेक लाइसेन्स बिक्रीमा। एक महिना पनि छैन चुनाव आउन। अध्यादेश ल्याउने, पैसा कहाँकहाँबाट खोज्न सकिन्छ। यो कामचलाउ म्यादी सरकार हो । दुरगामी निर्णय गर्न सक्दैन। यो सरकारले कानुन बनाउने होइन।’
उनले गठबन्धनका दलहरू धाँधली गरेर निर्वाचन गर्ने र जनतालाई भोट खसाउन नदिने प्रपञ्च गरिरहेकाे आरोप लगाए। उनले भने, ‘धाँधली गरेर निर्वाचन गर्ने र जनतालाई भोट खसाउन नदिने प्रपञ्च गरिरहेका छन्। पैसाको खोलो बगाइरहेका छन्, राज्य संयन्त्र दुरुपयोग गर्ने कुकर्ममा लागेका छन्। देशलाई भिडन्तमा लैजाने षड्यन्त्रमा लागेका छन्।’