
सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं १ लाई एमालेको ‘लालकिल्ला’ भत्काएर कांग्रेसको किल्ला बनाएको दाबी गरेका छन्।
सोमबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा ०६४ पछि ‘ह्याट्रिक’ गरेको बताए। उनले भने, ‘मैले एमालेको लालकिल्लालाई कांग्रेसको किल्ला बनाएको हो। मैले जनताको म्यान्डेटलाई इमानदारपूर्वक पूरा गरेको छु। विकासका काममा पनि मैले सकेजति गरिरहेको छु। यहाँका जनताले मलाई विश्वास गरिरहेका छन्।’
उनले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष–परोक्ष महत्त्व राख्ने गरेको बताए। उनले भने, ‘एक सय ६५ निर्वाचन क्षेत्रमा भन्दा यहाँ विशेष चासो र चर्चा रहने गरेकाे छ।पहिलोपटक यो क्षेत्रमा नै ई–भोटिङ भएको थियो। यहाँका मतदाता सचेत र जागरुक छन्।’
नेता सिंहले आफू निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा र प्रविधिबारे तालिम दिने, उच्च शिक्षासँगसँगै रोजगार बन्ने अवस्था बनाउने दाबी गरे।
उनले भने, ‘हामी काठमाडौंका सामुदायिक विद्यालयको गुणस्तर निजी विद्यालयबराबर बनाउने प्रयत्न गर्नेछौँ। स्वास्थ्यमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याब र डाक्टरसहितको क्लिनिक राख्नेछौँ। तर, त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्यो। ’
उनले जनताले पुनः अनुमोदन गरेको खण्डमा बेरोजगारलाई रोजगार बनाउने, खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प खोज्ने बागमती ड्याम बनाउनेलगायतका योजनामा काम गर्ने बतए।
कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरज चन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ १ (ख) उम्मेदवारलगायतको सहभागिता थियो।