मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज २९ शनिबार ०६:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फोहोरबाट कम्पोस्ट मल बनाउने प्रविधि जडान गर्दै काठमाडौं महानगर

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज २९ शनिबार ०६:२२:००

सहरी विकास मन्त्रालयले उपत्यकाको फोहोर ४० वर्षसम्म डम्पिङ गर्न मिल्ने गरी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार गरे पनि काठमाडौं महानगरपालिकाले भने यसको पनि विकल्प खोजेको छ । महानगरले उपत्यकाको फोहोरबाट मल उत्पादन गर्ने लक्ष्यसहित सम्भावित ठाउँ खोजिसकेको हो । 

चितवनमा रहेको सफा ऊर्जा प्रालिसँग महानगरले फोहोर व्यवस्थापनमा सहकार्य गर्न लागेको हो । हाल यही प्राविधिक कम्पनीसँगको सहकार्यमा भरतपुर महानगरले कुहिने फोहोरलाई मल बनाउँदै आएको छ । सफा ऊर्जाले हट कम्पोस्टिङ प्रविधिबाट फोहोरलाई ३० दिनमा कम्पोस्ट मल बनाउँछ । सोही प्रविधि अपनाउनेबारे महानगरका मेयर बालेन्द्र साहले कम्पनीसँग छलफल गरिसकेका छन् । उनले उक्त प्रविधि स्थापना गर्न सम्भावित ठाउँ पनि पत्ता लगाइसकेका छन् । दक्षिणकाली, गोकर्णेश्वर र नागार्जुन क्षेत्रमा सार्वजनिक जग्गा भेटिएको र अब मेसिन जडान गर्नेबारे छलफल भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा उत्पादन हुने७० प्रतिशत फोहोर कुहिने प्रकृतिका हुन्छन् । यो फोहोर कम्पोस्ट मलका लागि उपयुक्त मानिन्छ । तर, हालसम्म यस्ता फोहोर पनि सिसडोल र बन्चरेडाँडामा डम्पिङ हुँदै आएको छ । यो फोहोरबाट मल उत्पादन गर्न सके किसानलाई पनि फाइदा पुग्ने र उपत्यकाभित्रै फोहोर व्यवस्थापन हुने प्रवक्ता मानन्धरको भनाइ छ । ‘फोहोरलाई डम्पिङ मात्रै गरेर हुँदैन, यसबाट फाइदा लिनुपर्छ,’ उनले भने, ‘यसका लागि मेयरसाबले तीन स्थानको सार्वजनिक जग्गा हेरिसक्नुभएको छ ।’ उनका अनुसार मेयर साहले विज्ञ टोलीसँग छलफल गरिरहेका छन् । 

नि:शुल्क मेसिन दिन कम्पनी तयार
उक्त कम्पनीले काठमाडौं महानगरको फोहोरलाई सहजै ‘मोहर’मा बदल्न नि:शुल्क रूपमा सहयोग गर्नेसमेत जनाएको छ । यो मेसिन दुई महिनामै जडान गर्न सकिन्छ । सफा ऊर्जा प्रालि उत्पादन तथा गुणस्तर विभाग प्रमुख रोशन केसीले महानगरले तत्परता देखाए नि:शुल्क सहयोग गर्न तयार रहेको बताए । ‘यो प्रविधिबाट मल बनाउन धेरै खर्च पनि लाग्दैन, मेसिन पनि महँगो छैन, काठमाडौं महानगरले यो प्रविधि अपनाए नि:शुल्क उपलब्ध गराउँछौँ,’ केसीले भने, ‘यो प्रविधि ठूला सहरका लागि अझै बढी उपयोगी मानिन्छ ।’ उनका अनुसार यो प्रविधि जडान गर्न जग्गा व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । एउटा मेसिन जोड्न र फोहोरबाट मल उत्पादन गर्न करिब पाँच रोपनी जग्गा चाहिन्छ । एउटा मेसिनमा दैनिक तीन सय टन फोहोर राख्न मिल्छ । यो मेसिन जडान गरेपछि उपत्यकामा उत्पादन हुने कुहिने फोहोर व्यवस्थापनमा सहज हुने कम्पनीको दाबी छ । 

के हो हट कम्पोस्टिङ प्रविधि ?
फोहोरलाई कम्पोस्ट मल बनाउने प्रविधि युनिभर्सिटी अफ क्यालिफोर्निया, अमेरिकाले विकास गरेको हो । यसलाई विन्ड्रो एरोबिक कम्पोस्टिङ प्रविधि (हट कम्पोस्टिङ) भनिन्छ । मल बनाउन ‘कम्पोस्ट टर्नर’ मेसिन चाहिन्छ । फोहोर यो मेसिनमा राखेर पकाएपछि मल बन्छ । हालसम्मका प्रविधिमध्ये यो सहज प्रविधि पनि हो । ३० दिनसम्म कुहिने फोहोर पकाएपछि मल तयार हुन्छ । यसो गर्दा रोगजन्य कीटाणु पनि मर्छन् । ३० दिनमा बिरुवालाई चाहिने उत्कृष्ट कम्पोस्ट धुलो मल तयार हुन्छ । यो प्रविधि हाल भरतपुर महानगर, खोटाङको मजुवागढी नगरपालिका र स्याङ्जाका केही कृषि फार्मले अपनाएका छन् ।

टेकुको ‘बायो ग्यास प्लान्ट’ प्रयोगविहीन 
त्यसो त काठमाडौं महानगरपालिकाले फोहोरलाई ‘मोहर’ बनाउने लक्ष्यसहित स्थापना गरेको बायो ग्यास प्लान्ट नौ वर्षदेखि टेकुमा अलपत्र छ । एक करोड ८६ लाख रुपैयाँ खर्चेर जडान गरेको उक्त मेसिन महानगरले प्रयोग गर्न सकेको छैन । पुरानै मेसिन प्रयोगविहीन रहेकै अवस्थामा महानगरले नयाँ मेसिन खरिद गर्ने योजना बनाएको छ । ०७१ सालमा भिœयाएको उक्त प्रविधिबाट बिजुली, ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने आकलन गरिएको थियो । महानगरका वातावरण विभाग प्रमुख सरिता राईले बायो ग्यास प्लान्ट चलाउने जनशक्ति र मर्मत गर्ने प्राविधिकसमेत नहुँदा यसबाट फाइदा लिन नसकिएको बताइन् । उनका अनुसार बायो ग्यास प्लान्ट मर्मतका लागि महानगरले दुई तीन महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको छ ।

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन अझै सकेको छैन, तर उपत्यकाकै भक्तपुर नगरपालिकाले भने फोहोर व्यवस्थापन प्रभावकारी बनाएको छ । भक्तपुरले फोहोरबाट आम्दानीसमेत गर्दै आएको छ । फोहोरबाट उत्पादित मल प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्छ । नगरपालिकाका मेयर सुनील प्रजापतिका अनुसार फोहोरबाट दैनिक पाँच सय किलो कम्पोस्ट मल उत्पादन हुन्छ । उक्त मल वडा कार्यालयहरूबाट किसानलाई सहुलियतमा बिक्री गरिन्छ । ‘हामी नकुहिने र कुहिने फोहोर अलग–अलग संकलन गर्छौँ, नकुहिनेमध्येको केही फोहोर बेच्छौँ, कुहिने फोहोरबाट मल बनाउँछौँ,’ मेयर प्रजापतिले भने, ‘मल पनि नहुने र बिक्री पनि नहुने फोहोरचाहिँ वडा ८ मा डम्पिङ गरेर राख्छौँ ।’ उनका अनुसार नगरपालिकाले दैनिक १० वटा कन्टेनरमा फोहोर संकलन गर्छ । कुहिने फोहोर ‘सिएलबिएम’ प्रविधिको प्रयोग गरेर मल बनाइन्छ । अन्य प्लास्टिकजन्य फोहोर बिक्री हुन्छ । 

फोहोर उत्पादन बढेपछि प्रविधि थप्दै
भक्तपुरले फोहोर उत्पादन बढ्न थालेपछि वैकल्पिक उपाय पनि खोजेको छ । त्यसका लागि ‘बक्स कम्पोस्टिङ’ प्रविधि प्रयोग गर्ने तयारी गरेको छ । उक्त प्रविधि जडानका लागि उपकरण पनि खरिद गरिसकेको छ । यस प्रविधिबाट पनि कम्पोस्ट मल नै बन्छ ।

ललितपुरको योजना नै छैन
ललितपुर महानगरले पनि बन्चरेडाँडामै फोहोर फाल्दै आइरहेको छ । ललितपुरले भने यसरी फोहोरलाई मलमा रूपान्तरण गर्ने कुनै योजना ल्याएको छैन । ललितपुर महानगरपालिका वन वातावरण तथा विपत् व्यवस्थापन समिति संयोजक नारायण अवालेले ठाउँ अभावले फोहोरबाट मल उत्पादन गर्ने प्रविधि जडान गर्न नसकेको बताए । ‘हामीकहाँ फोहोर थुपार्ने र मेसिन राख्ने ठाउँ छैन,’ उनले भने, ‘ठाउँ भेटिए मेसिन जडान गर्छौँ ।’