
भारतीय महिला क्रिकेट टोलीकी विकेटकिपर तानिया भाटिया बसेको होटेल रुमबाट महत्वपूर्ण सामग्री चोरी भएको छ । २४ वर्षीया तानियाले इंग्ल्यान्ड भ्रमणबाट फर्केपछि सोसल मिडियामा होटेलको रुमबाट आफ्नो सामग्री चोरी भएको सार्वजनिक गरेकी हुन् । तानियाको रुमबाट सामग्री चोरीको घटनालाई लन्डन प्रहरीले गम्भीरतापूर्वक लिएको छ ।
भारतीय महिला टोली लन्डनको चर्चित पाँचतारे होटेल म्यारिटमा बसेको थियो । आयोजक इंग्ल्यान्डले भारतीय टोलीको सुरक्षा व्यवस्थाको दृष्टिकोणबाट म्यारिट होटेलमा राखेको थियो । म्यारिट होटेलमा २४ घन्टा नै सिसिक्यामेराको व्यवस्था छ । यस किसिमको व्यवस्थामा पनि विकेटकिपर तानियाको रुमबाट सामग्री कसरी चोरी भयो भन्ने प्रश्न स्थानीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
रकम भएको ब्याग नै खाली
तानियाका अनुसार चोरले रुमबाट रकम, मास्टर कार्ड, घडी तथा गहना चोरेका छन् । शंकास्पद व्यक्तिहरूले तानिया बसेको रुममा निरन्तर रूपमा पछ्याइरहेको सिसिक्यामेरामा देखिएको छ । यद्यपि, सिसिक्यामेरामा उनीहरूको अनुहार स्पष्ट छैन । अचम्मको पक्ष के छ भने चोरहरू रुमभित्र गएको र बाहिर आएको कुनै रेकर्ड छैन । विकेटकिपर ब्याट्सम्यान तानियाले म्यारिट होटेल र व्यवस्थापनबाट दिक्क भएको बताएकी छिन् । ‘म यतिवेला लन्डनको चर्चित म्यारिट होटेलको म्यानेजमेन्टबाट दिक्क र निराश छु,’ सोसल मिडियामा तानियाले लेखेकी छिन् ‘रुमभित्र प्रवेश गर्दा सामानहरू छरिएका थिए, सबै रकम राखेको ब्याग खाली थियो ।’
कमजोर सुरक्षा व्यवस्था
नाम चलेको होटेल भए पनि म्यारिटको सुरक्षा व्यवस्था कमजोर भएको उनले बताएकी छिन् । उनी भन्छिन्, ‘हामीलाई आयोजक इंग्ल्यान्डले नै म्यारिटमा राखेको थियो, तर होटेलको व्यवस्थापन तथा सुरक्षा दुईतारे होटेलको भन्दा पनि कमजोर पाएँ ।’ उनले तत्कालै यससम्बन्धमा आयोजक बेलायतलाई अनुसन्धान गर्न आग्रह गरेकी छिन् । लन्डनको प्रहरीले अनुसन्धान थालेको छ ।
इंग्ल्यान्डले विदेशी खेलाडी आउँदा यसै म्यारिट होटेलमा राख्ने गर्छ । भारतीय महिला टोलीले पहिलोपटक इंग्ल्यान्डलाई एकदिवसीय सिरिजमा ३–० ले हराएको हो । भारतले अन्तिम खेलमा इंग्ल्यान्डलाई १६ रनले हराएको थियो । तानियाले भारतका लागि १९ एकदिवसीय खेलमा एक सय ३८ रन तथा ५३ अन्तर्राष्ट्रिय टी–२० खेलमा एक सय ७२ रन बनाएकी छिन् । उनले दुई टेस्टमा ६६ रन जोडेकी छिन् ।