
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवद्र्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ । आयोजनाको निर्माण गरिएका संरचना र जडान भएका उपकरणहरूको परीक्षण गर्न थालिएको कम्पनीका अध्यक्ष भरत नेपालले जानकारी दिए ।
बाँध र डिसेन्डरमा पानी हालेर गरिएको परीक्षण सफल भएको उनले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका–५, सिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । बाँध र ४५ मिटर लम्बाइका दुईवटा पानी थिग्र्याउने पोखरी (डिसेन्डर)मा परीक्षणका लागि पानी हालिएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेन्डर एप्रोच क्यानल जडान भएको छ ।
अहिले आयोजनाको सुरुङ, विद्युत्गृह, प्रसारण लाइन र सबस्टेसनतर्फ बाँकी रहेका कामलाई तीव्रता दिइएको छ । त्यस्तै, सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई पनि तीव्रता दिइएको र आगामी मंसिर महिनादेखि परीक्षण उत्पादन सुरु गर्ने तयारीका साथ काम भइरहेको आयोजनाका इन्जिनियर जोसेप बज्राचार्यले जानकारी दिए ।
यस आयोजनाको १३ असोज ०७८ मा तीन हजार पाँच मिटर लामो सुरुङको ब्रेकथ्रु भएको थियो । ०७४ चैत महिनादेखि सुरु भएको यस आयोजनालाई ०७८ माघमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, कोरोना महामारी र प्राकृतिक विपद्का कारण निर्माण कार्यमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।