मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Thursday, 19 December, 2024
जुलाई १५ मा अस्ट्रेलियामा सम्पन्न सांस्कृतिक कार्यक्रमबाट उठेको रकमबाट वितरित राहत लिएपछि तस्बिर खिचाउँदै कुसुमखोलाका चेपाङ । तस्बिर : नयाँ पत्रिका
समाचार डिजिटल संस्करण

कुसुमखोलाका चेपाङलाई अस्ट्रेलिया बस्ने नेपालीले दिए राहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १७:o४:oo

नयाँ पत्रिका समाचार प्रभाव : 

चितवनकाे माडी नगरपालिका– ९ कुसुमखोलाका २५ परिवार चेपाङले आफ्नो प्रमुख धार्मिक पर्व छोनाम (न्वाँगी)को अवसरमा राहत सामग्री पाएका छन्। २२ जेठमा ‘आश्वासन पाए, गाँस र वास पाएनन् कुसुमखोलाका चेपाङले’ शीर्षकको समाचार नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रकाशिन भएसँगै अस्ट्रेलियामा भएका नेपालीमार्फत उनीहरूलाई सहयोग गरिएको हो।

जुलाई १५ मा अस्ट्रेलियामा सम्पन्न सांस्कृतिक कार्यक्रमको टिकट बिक्रीबापतको ५० हजार रुपैयाँबराबरको ब्ल्यांकेट र खाद्यान्न चेपाङ समुदायलाई वितरण गरिएको नयाँ पत्रिकाका क्षेत्रीय म्यानेजर सरोज देवकोटाले बताए। नेपाल चेपाङ संघले आयोजना गरेको छोनाम (न्वाँगी) कार्यक्रमका अवसरमा भरतपुरमा राहत सामग्री वितरण गरिएको हो। बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र चेपाङ संघका प्रतिनिधिहरूमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो।

पोखराका सुपक अधिकारी, सूर्य आचार्य, चितवनका श्याम दाहाल, नवीन कँडेल, राजन थापा, नवलपरासीका देवराज कँडेल, तनहुँका श्याम बोहरा र काठमाडौंका डेमनराज उपाध्यायको पहलमा उक्त सहयोग प्राप्त भएको हो। कुसुमखोलाको चेपाङबस्तीमा निकुञ्जले आगलागी गरेपछि नयाँ पत्रिकाले प्रकाशित गरेको समाचारका आधारमा देश तथा विदेशबाट यसअघि पनि सहयोगहरू प्राप्त भएको थियो। सुपक अधिकारीको पहलमा यसअघि पनि उक्त क्षेत्रमा निकुञ्जले घर जलाएको पाँच परिवारका लागि आयआर्जनमा सहयोग मिल्ने हेतुले बाख्रा वितरण भएको थियो।

कुनै समय एक सय ६० भन्दा बढी चेपाङ समुदाय रहने यो गाउँमा ०७७ साउन ३ मा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै हात्ती लगाएर भत्काएपछि एक परिवारबाहेक सबै यहाँबाट विस्थापित भएका थिए । १५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो। दुई वर्ष बितिसक्दा पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश सरकारले सुनेको छैन। उल्टो गत चैतमा पुनः आगो लगाइदिएको थियो। 

गाँस र स्थायी वासको व्यवस्था गर्ने जिम्मेवारीबाट राज्य पछि हटेपछि उनीहरू खेतीपाती गर्न भन्दै पुरानै थलोमा फर्किएका छन्। अहिले २५ वटा छाप्रो लगाएर चेपाङहरू कुसुमखोलामा बसेका छन्। वसन्तपुर बजारदेखि पुल नभएका दर्जन बढी खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका– ९ मा रहेको कुसुमखोला पुगिन्छ। वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा रहेको यो ठाउँमा वर्षामा खोला बढ्ने भएकाले पुग्न निकै कठिन छ।

विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम भर्न लगाइएको भए पनि लालपुर्जाविना खोलाको छेउमा एककट्ठा दिने भनेर हटाउन खोजिएकाले त्यसको विरोधमा केही चेपाङ परिवारले सो ठाउँ छाड्न मानेका छैनन्। उनीहरूको एउटै प्रश्न छ– कतिपटक कति ठाउँमा गएर कहिलेसम्म सुकुमबासी बन्ने ? माडीमा निकुञ्जको अवरोधका कारण कुसुमखोलाबाट विस्थापित चेपाङको समेत उचित व्यवस्था हुन सकेको छैन। निकुञ्जले उठीबास लगाएका चेपाङको व्यवस्थापन गर्नुभन्दा अझ अघि बढेर केपी ओली नेतृत्वको सरकारले त्यही वडामा नक्सासमेत पास नगरी लाखौँ खर्चेर ११ दिनमै मन्दिर निर्माण गरेको थियो।