०७७ को मध्य बर्खामा निकुञ्ज प्रशासनले हात्ती र आगो लगाएर उठीवास गराएका कुसुमखोलाका चेपाङ २२ महिनासम्म राज्यले गाँस र स्थायी वासको व्यवस्था नगरेपछि पुरानै थलो फर्किन थाले
चितवनको माडी नगरपालिका– ९ कुसुमखोला छाडेका चेपाङहरू बिहान–बेलुकाको छाक टार्नै समस्या भएपछि पुनः बाली लगाउन कुसुमखोला झरेका छन् । नगरपालिकाले पक्की घरमा वासको व्यवस्था गरिदिने आश्वासन दिएपछि कुसुमखोलाका चोपाङ माडीकै कृष्णनगर, परवी खोलाकिनार, खरकट्टा, प्याउलीलगायत ठाउँमा बसाइँ सरेका थिए । तर, पेट भर्ने माध्यम नभेटेपछि बाली लगाउन पुनः कुसुमखोलाकै जमिनमा पुगेका हुन् ।
कुसुमखोलामै फर्किएकी छिरमाया चेपाङले नयाँ पत्रिकासँग भनिन्–
हामी यो ठाउँ छाडेर गएका थियौँ । उत्पादनै नहुने, खोलाको बगर र डाँडामा लगेर हामीलाई राखिएको छ । मकै, धान लगाउने खेतबारी छैन । खानाको अभाव भएपछि पुनः बाली लगाउन आएका हौँ, मेरा दुई सन्तान छन् । न वासको टुंगो भयो, न गाँसको । त्यही भएर आफ्नै थलो फर्कियौँ ।
नगरपालिकाको आश्वासनपछि धेरैले कुसुमखोला छाडेका थिए । तर, काजीमान प्रजा पछिल्लो एक वर्षदेखि निकुञ्जका कर्मचारी र जंगली जनावरको त्रासबीच पनि एक्लै कुसुमखोलामा बसिरहेका छन् । खेतीका लागि कम्तीमा पाँच कठ्ठा जमिन नभई जीविका चल्दैन भन्ने ठानेर कुसुमखोला नछाडेको उनी बताउँछन् । उनीसँगै बस्दै आएका धेरैले एक वर्षअघि नगरपालिकाको आश्वासनपछि कुसुमखोला छाडेका थिए । तर, अहिले उनीहरू पनि धमाधम फर्कन थालेका छन् । झुप्रो बनाएर बस्न थालेका छन् ।
सरकारले कोभिड त्रासका बीच ०७७ को मध्यबर्खा (३ साउन)मा हात्ती लगाएर चेपाङका घर–टहरा भत्काइदिएको थियो । पुनः बस्न सक्ने भन्दै आगो नै लगाइदिएपछि काजीमानबाहेकका सबैले त्यो ठाउँ छाडेका थिए । कुनै समय एक सय ६० भन्दा बढी घरधुरी रहेको त्यस ठाउँमा सरकारको कहर बर्सिनुअघि ०७४ मा बाढीले ठूलो क्षति पु¥याएको थियो । पीडितलाई राहत दिन त कता हो कता, तीन वर्षपछि राज्य डोजर लिएर उत्रियो । गत १३ चैतमा पनि सरकारले केही चेपाङका झुप्रोमा आगो लगाइदिएको थियो । स्थानीय सरकारले वासको व्यवस्था गर्दिने आश्वासन दिएपछि खुसी हुँदै कुसुमखोलाको घरजमिन छाडेका धेरैमध्ये केही चेपाङ भकारीमा अन्नपात सकिएपछि फागुन अन्तिमतिर फर्किएका थिए ।
‘हामी यो ठाउँ छाडेर गएका थियौँ । उत्पादनै नहुने, खोलाको बगर र डाँडामा लगेर हामीलाई राखिएको छ । मकै, धान लगाउने खेतबारी छैन । खानाको अभाव भएपछि पुनः बाली लगाउन आएका हौँ,’ राइडाँडाबाट आएकी छिरमाया चेपाङले नयाँ पत्रिकासँग भनिन्, ‘मेरा दुई सन्तान छन् । न वासको टुंगो भयो, न गाँसको । त्यही भएर आफ्नै थलो फर्कियौँ ।’
सालको रूखमुनि पालमा वास
कुसुमखोलामा मकैबाली लगाउन आएका उनीहरूमध्ये केही सालको रूखमुनि पाल टाँगेर र केही छाप्रो बनाएर बसेका छन् । ‘अहिले पनि निकुञ्जका प्रतिनिधि आउँछन्, थर्काउँछन् । हाम्रो पीडा कसैले बुझ्दैन,’ काजीमान प्रजाले भने, ‘हामीलाई कष्टकर दैनिकी बिताउन रहर छैन । यदि आफ्नै जमिन घर र बारी हुने भए खानेपानी, यातायात, बिजुलीको सुविधा नभएको यो अनकन्टारमा बस्ने रहर हुँदैनथ्यो,’ उनले थपे, ‘हामीले भोट दियौँ, अब जितेकाले हाम्रो व्यवस्थापन गर्दिन्छन् कि भन्ने आस छ । विगतमा जस्तै आश्वासन मात्र हुने हो कि भन्ने त्रास पनि छ ।’
काजीमानका अनुसार अहिले कुसुमखोलामा २२ परिवार झुप्रो बनाएर मकैबाली लगाउन बसेका छन् । उनीहरू कसैसँग न खाने चामल छ, न जंगलको बीचमा लामखुट्टे वा अन्य किराफट्यांग्राबाट जोगिने झुल । कमजोर पालको वास असुरक्षित छ । हावाहुरी र बर्खाको समय भएकाले जोखिम पनि उत्तिकै छ । त्रिपाल मात्र भए पनि सबैले सजिलोसँग रात काट्थे । चामल भएको भए सिस्नु, गिठ्ठा र भ्याकुर खाएर पेट भर्नुपर्ने थिएन ।
कुसुमखोला नफर्किएकाहरू झन् पीडामा
कुसुमखोला फर्किएका चेपाङको मात्र होइन, पक्की घरको आशामा कुसुमखोला छाडेका सुकुमबासीको पीडा पनि सानोतिनो छैन । माडी नगरपालिका–७ को देवेन्द्रपुरस्थित परुई खोलाको किनारमा बस्दै आएकी ६२ वर्षीया जालीमाया चेपाङ नयाँ घर नपाएपछि पुरानै झुप्रो मर्मत गरेर बसेकी छन् । ‘७० वर्षका मेरा श्रीमान् चामल किन्ने पैसा जुटाउन मजदुरी खोज्दै जिल्लाबाहिर पुग्छन्,’ हावा, पानी, घाम केही नछेक्ने झुप्रो घर देखाउँदै उनले भनिन्, ‘म सकिनसकी टालटुल गरेर बसेकी छु । न पानी छेक्छ, न घाम ।’
उनीजस्तै परवी खोलाको किनारमा रहेका ५५ परिवारका तीन सयभन्दा बढी चेपाङलाई पक्की घरमा बस्ने रहर छ । तर, तिनको सपना आँखाभित्रै हराएको छ । ०७५ मा माडी नगरपालिकाले माडी–९ मा लालपुर्जासहितको जमिन र बसोवासको व्यवस्था गर्ने आश्वासन दिएपछि चेपाङहरू परवी खोलाको किनारमा आएका हुन् । घर नपाएका उनीहरूलाई काम गरेर खाने जमिन पनि छैन । कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समितिका सचिव कमल चेपाङ बस्ती व्यवस्थापनका लागि कसैले चासो नदेखाएको बताउँछन् । ‘हामी जंगलका पशुजस्तै भएका छौँ,’ उनी भन्छन्, ‘ओत लाग्ने घर र काम गरेर खाने जमिन छैन । हामी सबैको बिचल्ली छ ।’
राष्ट्रिय निकुञ्जको अवरोधका कारण चेपाङको घर निर्माण गर्न नसकिएको माडी नगरपालिकाको भनाइ छ । कुसुमखोला क्षेत्रमा ०४८ देखि धादिङ र मकवानपुरबाट आएका चेपाङ परिवार बस्दै आएकोमा निकुञ्जकै कारण उनीहरू विस्थापित हुन बाध्य भएका थिए । विस्थापित भएर माडीको प्याउलु र खरकट्टामा रहेका चेपाङ परिवारको अवस्था पनि दयनीय छ । राईटोलमा भने केही पक्की घर बनेको छ । प्रायः चेपाङ पुराना कपडा र त्रिपालले छेकिएको अँध्यारो झुप्रोमा रात बिताउन बाध्य छन् ।
नवनिर्वाचित जनप्रतिनिधिसँग आशा : ताराकुमारी काजी महतो : मेयर, माडी नगरपालिका, चितवन
घरबारविहीन चेपाङ परिवारको आशा नवनिर्वाचित जनप्रतिनिधिमाथि छ । किनभने मतदानअघि खोजीखोजी नेताहरू उनीहरू बसेको ठाउँ पुग्ने र आफूलाई जिताए गाँस, वास र कपासको व्यवस्था गरिदिने वाचा गरिरहेका थिए ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो चेपाङका समस्यासँग जानकार छिन् । उनी भन्छिन्, ‘जंगलभित्र शिक्षा, स्वास्थ्य, सुरक्षा सबै हिसाबले बसोवास उचित छैन भनेर सचेत गराइरहेकी छु । हामीले कुसुमखोलाबाट ल्याएका उहाँहरूलाई सुरक्षित घर बनाएर राख्न सकेका छैनौँ ।
त्यसकारण पनि उहाँहरू फर्किन खोज्दै हुनुहुन्छ । उहाँहरूलाई व्यवस्थित वास भएन, आयआर्जनसँग जोड्न पनि सकेनौँ । त्यसैले उहाँहरू आत्तिएजस्तो लाग्छ । तर, उहाँहरूकै परम्परागत सीपअनुसारको पेसा र सुरक्षित बसोवास दिने गरी योजना ल्याउने सोचेका छौँ ।’