मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Tuesday, 11 March, 2025
 तस्बिर : चार घण्टा टाढाकाे कुवाबाट पानी बोकेर घर फर्कँदै ब्रुसवाङका बालिका
२o७८ फाल्गुण १६ सोमबार १४:५४:oo
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

पानी नभएर भोकै सुत्नुपर्ने बाध्यतामा ब्रुसवाङका चेपाङ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १४:५४:oo

डाँडाको बस्ती, भिरालो जमिन, भिरमै खेतीपाती । टाँकी र सिस्नुको तरकारी, मकैको ढिँडो अनि गिठ्ठा र भ्याकुर । त्यसमा पनि ६ महिना सहकाल, ६ महिना अनिकाल । आकाशेपानीको भर, कुवा धाउन टाढाको बाटो, पानी लिन घन्टाैँको सकसपूर्ण यात्रा । खानेपानी सापटी लिएर दैनिकी चलाइरहेका धादिङका ब्रुसवाङवासीको वास्तविकता हो यो । बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका ३६ घरपरिवार राज्यका आधारभूत आवश्यकताबाट  वञ्चित छन् । 

ब्रुसवाङकी फूलमाया चेपाङ मिर्मिरे उज्यालोमै पँधेरो पुग्छिन् । बिहान तीन बजे घरबाट हिँड्ने उनी पानी लिएर घर फर्कँदा सात बज्छ । फूलमायाले पानी नभएर कैयौँ रात भोकै सुत्नुपरेको पीडा सुनाइन् । ‘बस्तीनजिक पानी–पँधेरो छैन । डाँडै काटेर जानुपर्छ । एक गाग्री पानी लिन हिँड्न सक्नेलाई तीन घन्टा लाग्छ ।’ पानी नभएर धेरै रात भोकै सुतेका छौँ,’ उनले भनिन्, ‘धेरैपटक खानेपानी ऐँचाेपैँचो गरेर चलाएका छौँ ।’

धादिङको बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका चेपाङ समुदाय राज्यले दिने आधारभूत आवश्यकताबाट वञ्चित छन् । वर्षाैँदेखि बस्ती स्थानान्तरणको पर्खाइमा रहेका उनीहरू खानेपानी मेत ऐँचोपैँचो गरेर जीवन धानिरहेका छन् । 

‘सुत्केरी हुँदा छिमेकीसँग एक गाग्री पानी सापटी लिएर नौ दिन पुर्‍याएँ । १२–१५ दिनमै काखीमा सानी नानी च्यापेर घन्टाैँ धाएर पानी बोकी पैँचो तिरेँ, सम्झँदा पनि साह्रै दुःख लाग्छ । हामीलाई जस्तो दुःख संसारमा कसैलाई छैन होला, नपरोस् पनि,’ लामो सास फेर्दै फूलमायाले भनिन् । ब्रुसवाङका स्थानीय सोमलाल चेपाङले बिहान दुई बजे उठेर पानी लिन जाने र ६ बज्दा बल्ल घर आइपुग्ने बताए । एक गाग्री पानी बोक्न चार घन्टा खर्चनुपर्ने बाध्यता भएको उनको गुनासो छ । पुस, मंसिरतिर घन्टाैँ धाएर जाँदा पनि धारामा पालो पर्खनुपर्ने भएकाले निकै समय लाग्ने उनले बताए । ‘स–साना नानीबाबुदेखि वृद्धवृद्धासम्म पानी लिन जानुपर्छ । खानेपानी समस्याले मेलापात, अर्मपर्म गर्न भ्याइन्न । पाहुनापासो आउँदा, चाडपर्वजस्ता समयमा धेरैपटक पानी पैँचो गरेर चलाएका छौँ,’ उनले भने । 

कोही आकाशेपानीको भरमा... 
‘असार–साउन गइहाल्यो । अब कहिले पानी पर्ला ?’ ब्रुसवाङकै ७२ वर्षीया गौरीमाया चेपाङ आफैँलाई प्रश्न गर्छिन् । उनलाई सधैँ वर्षा र झरी भइदिए हुन्थ्यो जस्तो लाग्छ । आकाशेपानी थाप्न पाइने आसले उनलाई वर्षाको सिजन मन परेको हो । ब्रुसवाङका धेरै परिवारको खानेपानी जोहो आकाशेपानीको भरमा छ । उनी भन्छिन्, ‘शान्ति नेपालले हिलट्यांकी दिएपछि वर्षातको समयमा बिहान भर धाएर पानी ल्याउनुपर्ने समस्या हटेको छ । पानी नपरेको वेला दुई–तीन घन्टा लगाएर डाँडापारि जानुपर्छ । तर, आकाशबाट परेको पानी जम्मा पारेर पिउन थालेपछि अलि सहज भएको छ ।’

आकाशबाट परेको पानी पिउनयोग्य छ–छैन, उनीहरूलाई थाहा छैन । पानी शुद्धीकरण गरेर प्रयोग गर्ने ज्ञानको समेत अभाव छ ।  सरिता चेपाङले शुद्धताभन्दा पनि आवश्यकता ठूलो भएको बताइन् । उनले भनिन्, ‘हिउँदको वेला दुई–तीन घन्टा धाएर डाँडापारि पानी लिन जानुपर्छ । तर, बर्खाको समयमा आकाशबाट परेको पानी हिलट्यांकीमा जम्मा गरेर पानी खान्छौँ । शुद्धभन्दा पनि आवश्यकता ठूलो हो ।’ बिहान–बेलुका पानी बोकेर गाउँका धेरै आमाहरू रोगी बनेको पनि उनले बताइन् । 

न बस्ती सर्‍याे न आवश्यकता टर्‍याे
दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ मा पर्ने ब्रुसवाङवासी काठमाडौंबाट नजिकै भए पनि  राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट वञ्चित छन् । उनीहरूलाई आधारभूत आवश्यकताको पहुँचाबाट टाढा पारिएको छ । सेवा–सुविधा विस्तार गर्न कठिन भएको र भूकम्पले पनि थिलथिलिएको ब्रुसवाङवासी सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको पर्खाइमा छन् । आइतसिंह चेपाङ भन्छन्, ‘डाँडामा बस्ती छ । मानिस उभिन नसक्ने भिरमा मकै लगाएर गुजारा चलाइरहेका छौँ । त्यो पनि ६ महिना सहकाल, ६ महिना अनिकाल हो । अन्न नभएर धेरै रात भोकै अनिँदो बिताएका छौँ हामी ब्रुसवाङवासीले’, उनले भने । 

८२ वर्षीय टेकबहादुर चेपाङ पनि सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको पर्खाइमा छन् । ‘बस्ती सारिदिने भनेर गाउँमा धेरै नेताहरू धेरैपटक आए, छलफल भयो । तर वर्षाैँ बित्यो । न बस्ती सर्‍याे, न आधारभूत आवश्यकता टर्‍याे,’ उनले भने, ‘समस्याको भुमरीमा पैँठेजोरी खेलिरहेका छौँ । बस्ती सर्ने आसमा दुई मुठी सास जान मात्र बाँकी छ ।’ भक्कानिँदै उनले भने । आफूहरूको गाउँमा खानेपानी, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार सबै समस्या रहेको पनि उनले बताए । ‘घरको न घाटको भएर बाँचिरहेका छौँ । ढुंगा खाउँ कि माटो खाउँ भएको छ । यो दुःखको गह्रौँ भारी बिसाउने सुरक्षित ठाउँ कहिले जान पाइएला ?’ रसाउन लागेका आँखासँगै उनले प्रश्न गरे ।  

अन्याेलमै बस्ती स्थानान्तरण
ब्रुसवाङवासीलाई सुरक्षित ठाउँमा सार्ने  आशा देखाइएको वर्षौँ भयो । पाँच वर्ष बित्दा पनि राज्यले न बस्ती सार्न सक्यो, न त आधारभूत सेवा–सुविधा विस्तार गर्न सक्यो । ब्रुसवाङका ३६ घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्ने भनिए पनि उनीहरूलाई उपलब्ध गराउने भनिएको जग्गा विवादले उनीहरूलाई थप निराश बनाएको छ । 

जिल्ला समन्वय समितिले बस्ती स्थानान्तरणका लागि एक करोड रुपैयाँ व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, पहिले तोकिएको जग्गाको मूल्य जग्गाधनीले दोब्बरले बढाएपछि खरिद गर्न नसकिएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले बताए । उनले भने, ‘दुई वर्षसम्म सार्न नसकिएको बस्ती तत्काल सर्छ भन्न सकिन्न । दसैँसम्म सार्ने भनिए पनि रकम, कोरोना, जग्गा विवादलगायत विविध समस्याका कारणले बस्ती स्थानान्तरणको समय सरेको हो । अझै पनि ब्रुसवाङवासीको बस्ती स्थानान्तरण कहिलेसम्म हुन्छ भनेर यसै भन्न सकिन्न ।’

आगामी वर्ष बजेट विनियोजन गरेर बस्ती स्थानान्तरण गर्ने अध्यक्ष डल्लाकोटीले बताए । उनले भने, ‘पहिलो प्राथमिकता बस्ती स्थानान्तरण हो । बिजुलीका लागि पोलहरू गाड्ने काम पनि भइरहेको छ । विद्युत् पुर्‍याउन सकिए अन्धकार र खानेपानीको ऐँचोपैँचो समस्या समाधान गर्न सकिन्छ ।’