
भदौ अन्तिम साता एनआरएनए स्पोर्टस् एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुने भएको छ ।आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो ।
दुईदिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजीभन्दा माथिको तौल समूह प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिस्पर्धा हुनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंकलगायतका निकायहरूको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा कुल तीन सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच–पाँच हजार रुपैयाँ पाउनेछन् भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ।