मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार ११:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार ११:१२:००

फोर एच नेपालले राज्यका सम्पूर्ण निकायमा युवाको सहभागिता सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरेको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  एक प्रेस नोट जारी गर्दै  फोर एच नेपालले नेपालमा युवाको राजनीतिक तथा नीति निर्माण तहमा सहभागिता, पहुँच तथा नीति–निर्माणमा उपस्थिति न्यून रहेको जनाएको छ ।

जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘राजनीति पार्टीभित्र, संसदीय निर्वाचन, सरकारी नियुक्ति, संवैधानिक नियुक्ति तथा विभिन्न सार्वजनिक पदहरूमा उमेरका आधार विभेद गरिएको देखिन्छ ।’ कानुनी, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत रूपमा उमेरलाई आधार मानी युवाको सहभागिता, नेतृत्व, पहुँच तथा उपस्थितिलाई अवरोध सिर्जना गरिएको भन्दै फोर एच नेपालले नेपाल सरकार तथा सरोकारवाला निकायसँग युवाको सहभागिता सुनिश्चितताको लागि ध्याानाकर्षणसमेत गरेको छ । 

पाँचबुँदे मागमा फोर एच नेपालले हाल नेपालमा बालिग मताधिकारको उमेर १८ बाट घटाई १६ वर्ष कायम गर्नुपर्ने र संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि बढीमा २१ वर्ष कायम गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै, दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्नका लागि युवा सहभागितासहितको विशेष कार्यक्रम तय गरिनुपर्ने तथा राजनीतिक दलभित्र युवामाथिको विभेद अन्त गरी युवा सहभागिता सुनिश्चित गर्नुपर्ने भनिएको छ । 

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, संवैधानिक नियुक्ति, सार्वजनिक पद, उच्च राजनीतिक नियुक्ति तथा अन्य सार्वजनिक पदका लागि कायम गरिएको उमेर हदबन्दी हटाई युवाको पहुँचका लागि संवैधानिक तथा कानुनी संशोधन गर्न भनिएको छ । संयुक्त राष्ट्र संघले सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेको छ ।

१९९८ अगस्ट ८ देखि १२ सम्म पोर्चुगलको लिस्वनमा भएको विश्वस्तरीय युवा मन्त्रीहरूको सम्मेलनले  युवा नीतिसम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १९९९ डिसेम्वर १७ मा भएको संयुक्त राष्ट्र संघको साधारणसभाको प्रस्ताव नम्बर ५४ र १२० ले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गर्‍यो । सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरु भएको हो । नेपालमा पनि सन् २००४ बाट औपचारिक  रूपमा युवा दिवस मनाउन थालिएको हो ।