बानेश्वरस्थित साई स्वागत सहकारी ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले भरतमणि जंगम र लुमन दाहाललाई पक्राउ गरेको छ । जंगम उक्त सहकारीका अध्यक्ष र दाहाल कोषाध्यक्ष हुन् । शैली थापाको जाहेरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।
काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले साई स्वागत सहकारीका अध्यक्ष जंगम र कोषाध्यक्ष दाहाल पक्राउ परेको बताए । ‘साई स्वागत सहकारीले ठगी गरेको भन्दै जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा आइतबार सहकारीका अध्यक्ष पक्राउ परेका छन्,’ उनले भने, ‘उनीविरुद्ध अदालतले ५ दिनको म्याद थप गरेको छ । घटनाको अनुसन्धान अघि बढेको छ । बाँकी तथ्य खुल्दै जालान् ।’
सहकारीमा रकम हिनामिना भएको गुनासोपछि काठमाडौं महानगरपालिकाले छानबिन गरेको थियो । छानबिनका क्रममा १२ महिनाभन्दा धेरै भाका नाघेको ऋण असुल्न दुई करोड ४७ लाख र १२ महिनाभन्दा कम भाका नाघेको ऋण असुल्न २३ लाख ७२ हजार रुपैयाँ रहेको देखिएको थियो । २७ लाख ९४ हजार नौ सय सेयरपुँजी रहेको संस्थाको बचत दायित्व भने चार करोड ५९ लाख र लगानी चार करोड १० लाख रुपैयाँ रहेको देखिएको थियो ।
त्यस्तै, सहकारीको कुल सम्पत्ति पाँच करोड ९७ लाख ८९ हजार रहेको उल्लेख थियो । सहकारीका बचतकर्ता १२४ जना रहेको देखिएको थियो । छानबिनपछि महानगरले तयार गरेको प्रतिवदेनअनुसार सहकारीका तत्कालीन सचिव तथा व्यवस्थापक शंहर उपाध्याय दाहालले सहकारीका नाममा राधास्वामी बचत तथा ऋण सहकारीबाट लिइएको ९५ लाख रुपैयाँ किर्ते गरी कारोबार गरेका थिए । उनीहरूविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।