हुवावे नेपालको प्रमुख सामाजिक पहल ‘सिड्स फर द फ्युचर’ २०२४ कार्यक्रम सम्पन्न भएको छ । नेपालका युवालाई आइसिटी शिक्षा र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटन हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनले गरेका थिए ।
साथै, हुवावे नेपालले प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । उक्त केन्द्र सञ्चार तथा सूचना प्रविधिमन्त्री, माननीय पृथ्वी सुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उद्घाटन गरेका हुन् । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा पछिल्ला प्रवृत्ति र अभ्यासलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रका रूपमा काम गर्ने बताइएको छ ।
नेपालको डिजिटल रूपान्तरणमा हुवावे नेपालको योगदानको २५ वर्ष पूरा भएको अवसरले पनि विशेष महत्व राखेको छ । बितेको २५ वर्षमा हुवावेले देशको प्राविधिक परिदृश्यलाई आकार दिन, दूरसञ्चार पूर्वाधारको उन्नतिदेखि आइसिटी समाधानमा नवप्रवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । प्रदर्शनी केन्द्रको उद्घाटन हुवावेको नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक नेताहरूको नयाँ पुस्ताका लागि प्लेटफर्म उपलब्ध गराउने निरन्तर प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ ।
त्यसका साथै हुवावेले यस वर्षको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा पनि गरेको छ । प्रतियोगितामा सहभागी नेपाली विद्यार्थी टोलीले ‘पिपल्स च्वाइस अवार्ड’ जितेका थिए । उक्त कार्यक्रममा तीन सयभन्दा बढी आवेदन प्राप्त भएका थिए, जसबाट ३० जना विद्यार्थी चयन भएका थिए ।यस कार्यक्रममा प्राविधिक तालिम, कार्यशाला, मास्टरक्लास र सहकार्य परियोजनाहरू संयोजन गरिएका थिए ।
कार्यक्रमको समापनमा ६ जना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई चीनमा हुने एसिया–प्यासिफिक डिजिटल ट्यालेन्ट समिट– २०२४ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका थिए, जहाँ उनीहरूले बहुमूल्य अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गरेका छन् ।