यतिवेला पृथ्वी राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ । यस क्रममा मध्यदिनमा विभिन्न ठाउँमा सडक बन्द गरी विस्तारको काम गर्दा यात्रुहरू समस्यामा परेका छन् । यात्राका क्रममा यात्रुहरू बिचबाटोमा रोकिनुपर्दा कठ्यांग्रिँदो जाडोमा बाटोमा लामो समय पर्खन त बाध्य छन् नै, गाडी रोकिने स्थानमा पसलसमेत नहुँदा खान, दिसापिसाब गर्नसमेत समस्या परेको उनीहरूको गुनासो छ ।
‘धादिङबेँसीबाट बेनीघाट जाँदै थिए । सडक बन्द हुन्छ भन्ने थाहै थिएन । दुई घण्टादेखि जाममा छु । न अफिस फर्कनु, न फिल्ड पुगेर घर फर्कन भ्याउनु । आजको दिन जाममै बित्ने भयो,’ धादिङकी अञ्जु श्रेष्ठ भन्छिन्, ‘रातको समयमा बन्द गरेर काम गरेको भए यात्रुलाई अलि सहज हुने थियो । मध्यदिनमा यात्रुलाई सास्ती भयो । यस्तो आलोकाँचो निर्णयले गर्दा हामीजस्ता हजारौँ यात्रुको बिचल्ली भएको छ ।’
पोखरा हिँडेका मिलन ठकुरी विशालटारको जाममा फसेको बताउँछन् । ‘अनुमानित समय निकालेर गन्तव्यमा हिँडेका हुन्छौँ । एक्कासि यति लामो समय जाममा परियो । कहिले पुग्ने पोखरा, आजै हुने काम दुई दिन लाग्ने भयो । सडकको कामले जाम पर्दा हामी बेकामे भयौँ,’ उनले भने ।
हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरी सडक विस्तार गरिएको छ । घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले दिनमा सडक बन्द गरी विस्तार गरिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) गजुरीका योजना प्रमुख केशव ओझाले बताए । ‘आइतबारदेखि दैनिक तीन घण्टा सडक बन्द गरिएको छ । १३ पुससम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द हुनेछ,’ उनले भने, ‘पहाड काट्नुपर्ने भएकाले जोखिमका कारण रातको समयमा बन्द गरी काम गर्न सक्ने अवस्था छैन । लामो समय छलफलपछि यो निर्णय गरेका हौँ । विभिन्न सञ्चारमाध्यम तथा सम्बन्धित निकायबाट पनि सूचना प्रवाह गरिरहेका छौँ ।’
मध्यदिनमा सडक बन्द भए पनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ओझाले बताए । ‘काठमाडौं आउने जाने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेका छौँ । बन्द रहने समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘मलेखु–मुग्लिन खण्डको विशालटार क्षेत्र, मझिमटार, बेनीघाट बजार, चरौँदी बजारमा रोकिनेछन् । नौबिसे–मलेखु खण्डको गल्छी बैरनी, जरेखेत, चालिसे, घाटबेँसी र नागढुंगा सुरुङ मार्गको सिस्नेखोला क्षेत्रमा रोकिनेछन् । हेभी सवारीसाधन र हल्का सवारीसाधनलाई पनि छुट्टाछुट्टै ठाउँमा रोकिने व्यवस्था छ ।’