मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार ११:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

६ वर्षमा पनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार ११:५८:oo

घरनजिकै स्वास्थ्यचौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित थिए । उमेरसँगै रोगले थलिएर बिस्तारामा परेका उनलाई स्वास्थ्यचौकी भवन निर्माण हुने कुराले रोग निकोे भएको महसुस हुन्थ्यो ।

हिँडेर टाढाको अस्पतालसम्म पुग्न सक्ने अवस्था नभएका उनको घरमा श्रीमती, बुहारी र साना नातिनातिना छन् । रोगले च्यापेको वेला नजिकैको स्वास्थ्यचौकीमै उपचार पाउने उनको आशा अझै पूरा हुन सकेको छैन । यो अवस्था हो जिल्लाको फलेवास नगरपालिका– ९ भँगरामा निर्माणाधीन स्वास्थ्यचौकी भवनको ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी ०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन ६ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो । स्वास्थ्यचौकीमा उपचार गराएर केही वर्ष अझै बाँच्छु भन्ने सोचेका परियारजस्ता थुप्रै नागरिक भवन सम्पन्न नहुँदै जीर्ण र अलपत्र बनेको देखेर निराश हुने गरेका छन् ।

समयमै भवन निर्माण सम्पन्न नहुँदा स्थानीयवासी स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन् । निर्माण व्यवसायीले काम छोडेर बिचमा भागेपछि भवन अलपत्र परेको हो । रु. दुई करोड ४४ लाखमा भवन निर्माणका ०७५ माघमा निर्माण कम्पनी काठमाडौंले जिम्मा लिएको थियो ।

लामो समयसम्म भवनले पूर्णता पाउन नसक्दा निर्माण भएको पूर्वाधार जीर्ण बन्दै गएको छ । दुईतले १२ कोठे भवनमा बिरामीको उपचारका लागि औषधि भण्डारण, बिरामी जाँच कक्ष, गर्भवती जाँच कक्ष कर्मचारी आवास, प्रशासन, बर्थिक सेन्टर लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत निर्माण भएको भवन सम्पन्न गर्नका लागि चारपटक म्याद थप गरिसकिएको छ ।

ठेकेदारले बिचमै काम छोडेर बेपत्ता भएपछि आयोजनाले पटकपटक म्याद थप गर्दै निर्माण कम्पनीलाई ताकेता गर्दै काममा लगाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर शंकरराज कोइरालाले जानकारी दिए । उनका अनुसार भवनको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत नगरी निर्माण व्यवसायी बेपत्ता भएको हो ।

भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष हितमान गुरुङले बताए । मौखिक रूपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचनासमेत जीर्ण र पुरानो हुँदै गएको उनको भनाइ छ । ‘वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ,’ उनले भने ।

गाउँमा गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सानोतिनो रोग र चोटपटक लागेमा अन्यत्र जानुपर्ने बाध्यता स्थानीयको छ । ‘सामान्य समस्या भयो भने कुश्मा वा पोखरा पुग्नुपर्ने बाध्यता छ,’ स्थानीय सुमिना गुरुङले भनिन्, ‘सुविधासम्पन्न भवन अलपत्र परेर सेवा विस्तारमा सहज नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले बढी सास्ती व्यहोर्नुपरेको छ ।’

साविक गाउँ विकास समितिको पुरानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको स्वास्थ्यचौकी प्रमुख वीरबल विकले बताए । बर्सातमा भवन चुहिएर समस्या हुने गरेको उनले बताए । उनले भवन निर्माण भएर सञ्चालनमा आए यहाँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए ।

स्थानीयवासी तथा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले लामो समयदेखि स्वास्थ्यचौकीको भवन अलपत्र परेको देखेर चिन्तित बनेको बताइन् ।

सुविधासम्पन्न स्वास्थ्यचौकी भवन बनाउन आफ्नै पहलमा बजेट विनियोजन गर्नेदेखि आफ्नो परिवारले निःशुल्क जग्गासमेत उपलब्ध गराएको जनाउँदै ठेकेदारले काम नगर्दा समस्यामा परेको बताइन् । भवन तत्काल सम्पन्न गरेर सञ्चालनमा ल्याउन उनले माग गरेकी छिन् ।