मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
झापा कपको ट्रफीसँग चर्च ब्वाइज र एनआरटीका प्रशिक्षक र कप्तान । तस्बिर : नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार o७:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा कपको फाइनल आज, एनआरटीसँग बदला लिने दाउमा चर्च ब्वाइज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार o७:१३:oo

पहिलो झापा कपको उपाधिका लागि सोमबार सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) भिड्दै छन् । एक साताको अन्तरमा यी दुई क्लब दोस्रोपटक आमनेसामने हुन लागेका हुन् । गत साता इलाम गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजमाथि ३–० को जित दर्ता गर्दै उपाधि उचालेको थियो । चर्च ब्वाइजले एक साताअघि व्यहोरेको हारको बदला लिने तयारीका साथ मैदानमा उत्रने योजना बनाएको छ ।

एनआरटीले चर्च ब्वाइजलाई नै पराजित गरी एक साताभित्र दोहोरो उपाधि जित्ने लक्ष्य बनाएको छ । झापा कपको विजेताले दश लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । ९१ वर्षको इतिहास बोकेको एनआरटी र चर्च ब्वाइजका खेलाडी उत्कृष्ट फर्ममा छन् । जागृति फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एनआरटी फाइनलमा पुगेको हो । चर्च ब्वाइजले सलहेश फुटबल क्लबलाई हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले एनआरटीविरुद्ध इलाममा भएको गल्तीलाई सच्याउँदै खेल्ने बताए । ‘इलाममा एनआरटीसँग खेल्दा जुन गल्ती गरेका थियौँ, झापा कपमा त्यस किसिमको खेल हुँदैन,’ श्रेष्ठले भने, ‘खेलाडीमा केही कमजोरी देखियो । जति खेल्नुपर्ने हो त्यति खेल्न सकेनन् । उपाधि जित्न गल्तीरहित खेल्नुपर्छ ।’

चर्च ब्वाइजका मुख्य खेलाडी घाइते
इलाम गोल्डकपका क्रममा चर्च ब्वाइजका केही मुख्य खेलाडी घाइते छन् । नियमित कप्तान अनन्त तामाङले चोटका कारण क्वार्टरफाइनल खेल गुमाएका थिए । उनले सेमिफाइनलको अन्तिम दश मिनेट मात्र खेले । चोटका कारण नै एरिक विष्टले सेमिफाइनल खेल गुमाएका थिए । प्रिम्याच कन्फ्रेन्समा कमल श्रेष्ठले कप्तानीका रूपमा प्रतिक्रिया दिएका थिए । मुख्य खेलाडी मैदानबाहिर रहँदा एनआरटीविरुद्ध चर्च ब्वाइजलाई गाह्रो पर्ने देखिन्छ । सहलेशविरुद्धको सेमिफाइनलमा सिनियर खेलाडीको अभाव चर्च ब्वाइजलाई खड्किएको थियो ।

उपाधि भिडन्तमा नियमित कप्तान अनन्तले खेल्ने, तर एरिकको अवस्था टुंगो नभएको प्रशिक्षक श्रेष्ठले बताए । ‘सम्भवतः अनन्तले पहिलो ११ बाटै प्रतिस्पर्धा गर्नेछन् । एरिकलाई दोस्रो अप्सनमा राखेका छौँ,’ श्रेष्ठले भने, ‘बेन्चमा पनि हामीसँग राम्रा खेलाडी छन् ।’ चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले अघिल्लो फाइनलमा भएका गल्ती सुधार्ने अवसर भएको बताए । चर्च ब्वाइजले गत वर्ष डोमालाल राजवंशी रंगशालामा झापा गोल्डकपको उपाधि जितेको थियो । एनआरटीचाहिँ सोही प्रतियोतिगाको पहिलो चरणमा चर्च ब्वाइजसँग पराजित भएको थियो । 

सबै खेलाडी फर्ममा
एनआरटीका प्रशिक्षक जीवन सिंकेमानले खेलाडीहरूले जितका लागि प्रतिस्पर्धा गर्ने बताए । ‘हामी एक साताको अन्तरमा दुई उपाधि जित्दै इतिहास बनाउने प्रयासमा छौँ,’ सिंकेमानले भने, ‘यसका लागि एनआरटी तयार छ ।’ युवा र सिनियर खेलाडीले भरिएको एनआरटीले चर्च ब्वाइजलाई बलियो चुनौती दिने प्रशिक्षक सिंकेमानले बताए । ‘हाम्रो बलियो पक्ष खेलाडी एकताबद्ध छन् एक–अर्कामा सहयोगी भावना छ,’ उनले भने, ‘फिनिसिङ लाइन कमजोर छ, यसलाई सुधार गर्न सकिन्छ ।’ प्रशिक्षक सिंकेमानले सेमिफाइनलमा जित निकाल्न मिहिनेत गर्नुपरेको बताए । ‘सेमिफाइनलको तुलनामा उपाधि भिडन्तमा राम्रो फुटबल खेल्ने प्रयास गछौँ,’ उनले भने । एनआरटीका कप्तान अञ्जन विष्टले फाइनल जित्नका लागि खेल्ने बताए । उनले दर्शकलाई राम्रो खेल देखाउने प्रतिबद्धता व्यक्त गरे ।