मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ पौष ८ सोमबार o६:५६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिवि सभा सिंहदरबारमा !

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार o६:५६:oo

सामान्यतः त्रिविमै बस्ने त्रिवि सभा बैठक आइतबार कुलपति रहेका प्रधानमन्त्रीले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बोलाए, तर आफ्नै विद्यार्थी संगठनले उपकुलपति कार्यालयमा धर्ना दिँदा निम्तिएको समस्या समाधानमा चासो नै दिएनन्

प्रधानमन्त्री केपी ओलीले सामान्यतः त्रिभुवन विश्वविद्यालयमै बस्ने त्रिवि सभा (सिनेट बैठक) सिंहदरबारमा राखेका छन् । त्रिविमा जान असमर्थ भएको भन्दै कुलपतिको हैसियतमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमै राखेको बैठकमा त्रिविको जल्दोबल्दो समस्याबारे भने छलफल नै भएन । त्रिविमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अवरोधका कारण उपकुलपति प्रा.डा. केशरजंग बराल १२ दिनदेखि (२६ मंसिरयता) कार्यालय जान सकेका छैनन् ।

२७ मंसिरमा कीर्तिपुरमै बसेको त्रिवि सिनेट बैठक आरोप–प्रत्यारोपमा विनानिष्कर्ष टुंगिएको थियो । सिनेट सदस्यहरूले कुलपतिस्तरबाट बैठक निकै कम राखिएको भन्दै गुनासो गरेपछि प्रधानमन्त्रीले स्थगित गरेका थिए । उक्त बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबिच छलफल हुन सकेको थिएन । त्यसपछि आइतबार उनले सिंहदरबारमा बैठक राखेका हुन् ।

करिब तीन घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिलाई क्षेत्रगत समस्या समाधान गर्न निर्देशन दिए । यसअघि त्रिविका संस्थान र संकायमा डिन नियुक्ति गर्दा उपकुलपतिलाई भागबन्डा गर्न बाध्य पारेको आरोप खेपेका प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा आफूलाई विश्वविद्यालयबाट व्यक्तिगत रूपमा लिनुदिनु (लाभहानि) केही नभएको दाबीसमेत गरे । उनले यो बैठक अनौपचारिक भएको पनि बताए ।

‘त्रिविको शैक्षिक क्यालेन्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भए पनि यसलाई निर्देशन नै मान्दा हुन्छ, विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ, मेरिटोक्रेसी कायम हुनुपर्छ, उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ,’ ओलीले भने, ‘मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो, कुन डिनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन, को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन । मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो, नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन ।’

एमालेनिकट अनेरास्ववियुको धर्नाले उपकुलपति कार्यालय जान नसकेको विषयमा छलफल नै भएन
त्रिविमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अवरोधका कारण उपकुलपति प्रा.डा. केशरजंग बराल १२ दिनदेखि (२६ मंसिरयता) कार्यालय जान सकेका छैनन् । तर, यो समस्या समाधानका लागि आइतबार सिनेट बैठकमा प्रधानमन्त्रीले कुनै चासो नै दिएनन् । उपकुलपति बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर तथा कहिले घरबाटै काम गर्ने गरेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् ।