मुलुकको आयात–निर्यात व्यापारमा सुधार आउन थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो पाँच महिनाको वैदेशिक व्यापारको तथ्यांकले आयातमा ३ प्रतिशत र निर्यातमा १६.५४ प्रतिशत वृद्धि देखिएको हो ।
आयात र निर्यात व्यापारमा भएको वृद्धिले विगत दुई वर्षमा संकुचित बनेको वस्तुको मागमा सुधार आएको र अर्थतन्त्र पुनरुत्थान हुने संकेत दिएको अर्थशास्त्रीहरूको विश्लेषण छ ।
विभागका अनुसार चालू आवको पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ४२ अर्बको कुल आयात थियो । मासिक आयातको तुलनात्मक तथ्यांक हेर्ने हो भने मंसिरमा पाँच महिनायताकै उच्च आयात भएको छ । विभागका अनुसार मंसिरमा मात्रै एक खर्ब ४८ अर्ब १० करोडको वस्तु आयात भएको छ । दसैँ–तिहारलाई लक्षित गरी बढी आयात हुने भदौमा पनि एक खर्ब ३४ अर्बका वस्तु मात्रै आयात भएका थिए । गत वर्षको मंसिरमा भने एक खर्ब २९ अर्ब ७० करोडको मात्रै आयात भएको थियो ।
त्यस्तै, वस्तु निर्याततर्फ चालू आवको पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाखको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा ६३ अर्ब २० करोडको निर्यात भएको थियो । मंसिरमा चालू आवका बाँकी महिनाभन्दा सर्वाधिक निर्यात भएको छ । मंसिरमा २० अर्ब ९८ करोड ९० लाखको वस्तु निर्यात भएको छ । गत वर्षको मंसिरमा यस्तो निर्यात १२ अर्ब ६४ करोड २० लाख थियो ।
आयात र निर्यातमा सुधार देखिनुका चार कारण
१. रेमिट्यान्स वृद्धिले उपभोग बढायो
बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमै सकस व्यहोर्दै आए पनि रेमिट्यान्स वृद्धिले लगानीयोग्य पुँजीमा सहजता ल्याएको छ । यसले गर्दा पछिल्लो समय बढ्दो उपभोगलाई रेमिट्यान्सले भरथेग गर्दै आइरहेको अर्थशास्त्रीहरूको विश्लेषण छ ।
केन्द्रीय बैंकका अनुसार चालू आवको चार महिनामा रेमिट्यान्स पाँच खर्ब २१ अर्ब पुगिसकेको छ । गत आवको सोही अवधिभन्दा २२.५ प्रतिशतले वृद्धि हो । बैंकिङ क्षेत्रमा तरलताको प्रमुख स्रोतमध्येको रेमिट्यान्समा उच्च वृद्धिले उपभोग बढाउँदा आयात बढाउन मद्दत पुगेको अर्थशास्त्री प्रा.डा. पुष्कर बज्राचार्यको विश्लेषण छ । निर्यातमा झिनो सुधार छ । यो विगत दुई वर्षभन्दा केही सुधार भए पनि त्यसअघिका आँकडाको तुलनामा स्थिर अवस्था हो । लगानी थप बढाउन लगानीकर्ताको मनोबल बढाउनुपर्ने चुनौती उत्तिकै छ ।’
२. डलरको मूल्यवृद्धिको असर
वैदेशिक व्यापारमा भइरहेको वृद्धिमा अमेरिकी डलरमा भइरहेको मूल्यवृद्धिले बढी योगदान पु¥याएको हो । वैदेशिक व्यापारको अधिकांश कारोबार अमेरिकी डलरमा हुने भएकाले यसको मूल्यले ठुलो प्रभाव पार्ने गरेको छ । नेपाली मुद्रा अवमूल्यन हुँदा नेपालले आयात गर्ने वस्तुको मूल्य बढी पर्ने भएकाले यसले आयातको मूल्यमा स्वतः प्रभाव पार्छ । केन्द्रीय बैंकका अनुसार कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ । गत असार मसान्तसम्म अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमय दर एक सय ३३ रुपैयाँ ३६ पैसा रहेकोमा कात्तिक मसान्तसम्म एक सय ३४ रुपैयाँ ७४ पैसा छ ।
३. खानेतेलले उचाल्यो निर्यात
आयात–निर्यात वृद्धिमा भटमास, सूर्यमुखी र पाम तेलजस्ता खानेतेलको बढी योगदान देखिन्छ । गत आवको पाँच महिनामा ५३ करोड ४३ लाखको खानेतेल निर्यात भएको थियो । चालू आवको पाँच महिनामा भने ११ अर्ब ३५ करोड ३५ लाखबराबर खानेतेल निर्यात भएको छ । कुल निर्यातमा खानेतेलको हिस्सा १५.४१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो हिस्सा ०.८५ प्रतिशत मात्रै थियो । नेपालमा व्यावसायिक खेती नहुने भएकाले निर्यातकर्ताले कच्चा तेलको आयात गरी त्यसलाई प्रशोधन गरेर निर्यात गर्दै आइरहेका छन् ।
४. पेट्रोलियम पदार्थको आयात खुम्चियो
पेट्रोलियम पदार्थको आयात भने खुम्चिएको छ । आयातमा ठुलो हिस्सा ओगट्ने डिजेल गत आवको मंसिरसम्ममा ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको आयात भएको थियो । चालू आवको पाँच महिनामा ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँको मात्रै आयात भएको छ । त्यस्तै, गत आवको सोही अवधिमा २८ अर्ब ५५ करोडको पेट्रोलको आयात भएकोमा चालू आवमा २६ अर्ब ४५ करोडको आयात भएको छ । यद्यपि, परिमाणमा भने पेट्रोल आयात बढेको छ । खाना पकाउने ग्यासको आयातमा वृद्धि भएको छ ।