परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज साँझ स्वदेश फर्किँदै छिन् ।
उनी बाइल्याटरल टोटल हिप रिप्लेसमेन्ट (टिएचआर) को ‘फलो अप’ परीक्षणका लागि गत शुक्रबार भारतको नयाँदिल्ली पुगेकी थिइन् । युरोपबाट दिल्ली पुगेकी राणाले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् ।
स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँदिल्ली गएकाले यसपटक कुनै औपचारिक भेटघाटको कार्यक्रम रहेको थिएन । शुक्रबार भने उनले भारतको नयाँदिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन् ।
मन्त्री डा. राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह पनि गरिन् ।
उनले नेपाल–भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह गरिन् । यसअघि मन्त्री डा. राणा गत मंसिर २२ गते युरोपतर्फ लागेकी थिइन् । उनको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्यान्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्नु रहेको थियो ।
मन्त्री राणाले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट मंसिर २४ मा सो अदालतमा कुरा उठाएकी थिइन् ।
विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री राणाले उक्त अदालतको पूर्ण इजलाससामु नेपालको धारणा राखेकी थिइन् ।
युरोप भ्रमणकै क्रममा उनले युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेसनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा भेटवार्ता गरेकी थिइन् ।
यही पुस २ गते परराष्ट्रमन्त्री राणाले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानव अधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको बताइन् ।