मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ८ सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुन सक्छ : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १७:४१:oo

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सातबुँदे सहमतिअनुसार चल्न नसकेको गुनासो गरेका छन्। सयदिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगरपालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।

'सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्प्रिटअनुसार चल्न सकेको छैन। यसले कांग्रेसको घोषणापत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन। कांग्रेस–एमालेबिच गठबन्धन हुँदैगर्दा जनतामाझ व्याप्त निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी ओलीले संसद‍्मा व्यक्त गर्नुभएको थियो,’ महरले भने, ‘त्यसअनुरूप काम देखिएन। प्रतिबद्धताअनुसार काम नहुँदा पुनः जनतामा वितृष्णा फैलिने हो कि भन्ने डर बढ्न थालेको छ।’

त्यसैले, वर्तमान सरकारलाई सातबुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट नभएको उनले औँल्याए। ‘कांग्रेस संसद‍्को ठुलो दल हो। कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोबध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ। सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुन सक्छ,’ महरले भने।

१६ पुसमा कांग्रेसको सयदिने अभियान सकिएपछि सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझावअनुसार सत्ता सहयात्राबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्ने उनको भनाइ छ। त्यसैले, सरकारलाई अपेक्षाअनुसार चल्न उनको सुझाव छ। देशका दुई ठुला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा ठुलो आशा रहे पनि बिस्तारै निराशामा परिणत भइरहेको आफूले सयदिने अभियानका क्रममा देशका विभिन्न भूभागमा पुग्दा पाएको महरको भनाइ छ। उक्त निराशालाई आशामा परिणत गर्न सरकार सहमतिअनुसार अगाडि बढ्नुपर्ने उनले बताए।