भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या नै भएको आकलन प्रहरीले गरेको छ। खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएका हुन्।
त्यहीँ बस्दै आएका जेठा छोरा मिलनको अवस्था भने अझै अज्ञात छ। प्रहरी प्रहरीका अनुसार उनको मोबाइल आइतबारदेखि स्विच अफ छ।
मृतक आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन्। कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएका उनी छोराको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।
शनिबार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ। शवमा चोटपटक रहेको र घटनास्थलको अवस्थाका आधारमा हत्या नै भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।
आफन्तले परिवारलाई बताएअनुसार जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोक सेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए।
नायब सुब्बा तहका कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए।
प्रहरीले सोमबार दिउँसो शव उठाएर परीक्षणका लागि अस्पताल लगेको छ। घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको डिएसपी न्यौपानले बताए।