आपराधिक गिरोहसँग समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
संगठित अपराध र आपराधिक लाभ मुद्दामा जिल्ला अदालत ललितपुरकी न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।
लामो समय फरार रहेकी शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन्। आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार थुनछेक बहसका लागि पेस गरिएको थियो ।
यसअघि फरार प्रतिवादी बनाएर उनलाई प्रहरीले संगठित अपराध र आपराधिक लाभ मुद्दा चलाएको थियो। भैँसेपाटी प्रभागको प्रमुख रहेको वेला हनी ट्र्यापिङ गिरोहसँग मिलेर लाभ लिएको देखिएपछि उनीविरुद्ध मुद्दा चलेको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरले यो घटनामा ६ जनाविरुद्ध गत महिना नै मुद्दा दायर गरेको थियो। सुनसरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापा, प्रहरी जवान महेन्द्र हमाललाई पक्राउ गरेर मुद्दा दायर गरिएकोमा इस्लाम जेल गएका छन् भने अन्य तीनजना छुटेका छन्। प्रहरीले इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। पोखरेल अझै फरार छन्।
विगतदेखि नै हनी ट्र्यापिङमा संलग्न एक समूहले इन्स्पेक्टर शाहीसँग मिलेर ती व्यापारीसँग पैसा असुल्ने योजना बनाएको अनुसन्धानमा खुलेको थियो।
इटहरीका ती व्यवसायी सुष्मासँग केही महिनाअघि भेडेटार र इलाम घुम्न गएका थिए । सो कुरा सुष्माका साथी दर्शन पोखरेलले थाहा पाए। पोखरेलले ताज इस्लामलाई सुनाएपछि उनले तर्साएर पैसा असुल्ने योजना बनाए। सुरुमा इटहरी प्रहरीमै यस्तो प्रयास भएको थियो। तर, त्यहाँको प्रहरीले नमानेपछि उनीहरूले भैँसेपाटी प्रभाग प्रयोग गरी पैसा असुल्ने योजना बनाएका थिए।
इटहरीका ताज इस्लामको समुहसँग मिलेर एसपी कमल थापासँग मिलेर यस्तो योजना बनाएको देखिन्छ। तिनै एसपीले भैँसेपाटी प्रभागकी इन्स्पेक्टर शाहीलाई इस्लामसँग भेट गराइदिएका थिए। त्यहीअनुसार इस्लामले इन्स्पेक्टरसँग सल्लाह गरी सहमति गरेर पछि पीडित भनिएकी युवतीलाई लिएर गएका थिए। युवतीले नै ती व्यापारीलाई भेट्न बोलाएकोमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। कुटपिटसम्बन्धी उजुरी दिन लगाएर यसरी पक्राउ गरिएको थियो। पछि प्रहरीकै अगाडि ६० लाख मागियो, नत्र बलात्कार मुद्दामा जाहेरी दिएर फसाइदिने भन्दै बार्गेनिङ भएको थियो। ३० लाखमा सहमति भएको थियो। जसमध्ये २० लाख इस्लामकी साथी भीमादेवीको खातामा हाल्न लगाइएको थियो भने १० लाख रुपैयाँको चेक काटियो।
पछि जिल्ला प्रहरी परिसर ललितपुरले ‘हनी ट्र्यापिङ’ घटनामा मिलापत्र गरिएको सूचना पाएपछि सबैलाई झिकाएर छानबिन गर्दा प्रहरीको समेत मिलेमतो पुष्टि भएको थियो। इन्स्पेक्टरको मिलेमतो प्रस्ट भएपछि भोलिपल्टै जिम्मेवारीबाट हटाएर निलम्बन गरिएको थियो।
अर्काेतर्फ इस्लामको मोबाइल र १० लाख रुपैयाँको चेकसमेत भैँसेपाटी प्रभागबाटै गायब बनाइएको थियो। इस्लामको मोबाइलमा यससम्बन्धी सबै प्रमाण थियो। सोही कारण जिल्ला परिसरले उनीहरूलाई पठाउन भनेलगत्तै इन्स्पेक्टरले नै मोबाइल र चेक गायब बनाएको स्रोत बताउँछ। ललितपुर परिसरका डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले प्रहरीलाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही आधारमा मुद्दा चलेको हो।