भारतीय नम्बर प्लेटको कारको ठक्करबाट हेटौँडामा एक स्कुटरचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटरचालक हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलका अन्दाजी ३०–३५ वर्षका युवराज लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार साँझ त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–१, तिरतिरे धारानजिकै सामरी पुलबाट हेटाैँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७२६७ नम्बरको स्कुटरलाई हेटाैँडाबाट काठमाडौं जाँदै गरेको बिआर०५ बि ए ०००६ नम्बरको भारतीय नम्बर प्लेटले ठक्कर दिएको थियो।
कारको ठक्करबाट स्कुटरचालक लामा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
स्कुटरको पछाडि बसेका सोही स्थानकी अन्दाजी २५ वर्षीय बबिता लामा पनि घाइते भएकी छिन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइते लामाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी निरीक्षक सापकोटाले बताए।
स्कुटरलाई ठक्कर दिने कार र कारका चालक भारतको बिहारको मोतिहारी जिल्ला पूर्वी चम्पारण बस्ने २४ वर्षीय सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।