सञ्चालनको २४ महिना पुग्न लाग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आठौँ चार्टर्ड उडान हुने भएको छ। चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरको विमानले ११ पुसमा पोखरामा चार्टर्ड उडान भर्न लागेको हो।
१३ देखि १५ पुससम्म पोखरामा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन चीनबाट आउने टोली विमान चार्टर गरेर पोखरा आउन लागेको प्रतियोगिताको स्थानीय आयोजकमध्येको एक पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार एक सय २६ यात्रु लिएर आउने विमान ११ पुस बिहान ९ः५० बजे पोखरामा अवतरण गर्नेछ। पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको सिचुवानले यसअघि दुईपटक चार्टर्ड उडान भरिसकेको छ। पोखरामा उक्त विमान एक घण्टा बसेर काठमाडौं जानेछ।
१०ः५० बजे सोही विमानमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको नेतृत्वमा पर्यटन व्यवसायी, उद्योगी, पत्रकार, सरकारी कर्मचारीसहित एक सय २६ जना काठमाडौं जानेछन् । श्रेष्ठका अनुसार पोखराबाट फुललोडमा विमानले उडान र अवतरण गर्न नसक्ने भनि हल्ला फैलिरहेको वेला फुललोड उडानसँगै अवतरण हुन्छ भनेर देखाउन टोलीले काठमाडौं जान लागेको हो ।
१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो। १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तराष्ट्रिय उडानबारे अन्योल छ।
पोखरामा यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो। २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो। पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो। जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो।
त्यसपछि २२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर्ड उडान गरेका थिए। ७ मंसिर ०८० मा चीनको कुनमिंङ सहरबाट हिमालय एयरलाइन्सको विमानले, २२ कात्तिक ०८१ मा चीनको सिचुवान एयरलाइन्सले पोखरामा छैटाैँ, १३ मंसिरमा भारतको दिल्ली विमानस्थलबाट निजी विमान जेल एयरले साताैँ चार्टर्ड उडान गरेको थियो। भारतबाट आएको यो पहिलो उडानसमेत हो।
चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ। जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका विमान आउजाउ गर्न सक्ने विमानस्थलमा सानाठुला गरी ११ विमान पार्किङ गर्न सकिन्छ।