मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ८ सोमबार २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार

'एनपिएलमा साम्प्रदायिक क्रियाकलाप हुनु गलत’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार २१:२७:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल प्रिमियर लिग (एनपिएल) मा साम्प्रदायिक क्रियाकलाप हुनु गलत भएको ठहर गरेको छ। सोमबार पार्टी प्रवक्ता मनीष झाले विज्ञप्ति सार्वजनकि गर्दै एनपिएल फाइनलमा भएको अभद्र घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

‘अन्तिम खेलपश्चात् भएको अभद्र घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलपश्चात् भएको त्यस किसिमको साम्प्रदायिकता प्रेरित हिंसात्मक घटना सामाजिक सहिष्णुताले भरिपूर्ण नेपालका लागि अशोभनीय छ। अतः त्यसखाले साम्प्रदायिक क्रियाकलापको हामी सधैँ विपक्षमा छौँ।’

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै जनकपुरले एनपिएल पहिलो संस्करणको उपाधि जितेको थियो। घटनामा उद्दण्ड व्यक्तिहरूले जनकपुर बोल्ट्सका समर्थकलाई रड तथा अन्य हतियारसमेतको प्रयोग गरी कुटपिट गरी घाइते बनाउनुका साथै सामाजिक सञ्जालमार्फत नश्लीय तथा रंगभेदी शब्दहरूको प्रयोग गरी अपमानित गरेको रास्वपाको दाबी छ। ‘सामाजिक सहिष्णुता तथा सद्भाव नेपाली समाजको विशेषता मात्र नभई हाम्रो सुन्दर तथा विशिष्ट पहिचानसमेत हो।

नेपाली जनमानसमा यो अमूल्य सम्पदालाई चोट नपुर्‍याई प्रवर्द्धन गर्नु हामी सबै कर्तव्य हो। तसर्थ उक्त घटनाका दोषीलाई कानुनबमोजिम कारबाहीका लागि गृह प्रशासनको ध्यानाकर्षण गराउँदै आगामी दिन यस्ता घटना नदोहोरियोस् भनी सचेत रहन सबैमा अपिल गर्दछौँ।’

लेखा समिति सदस्यबाट सरकारको ध्यानाकर्षण 
लेखा समिति सदस्य तथा कांग्रेस सांसद रामकृष्ण यादवले पनि यही विषय सोमबार लेखा समितिको बैठकमा उठान गरेका छन्। उनले भने, ‘एनपिएलमा कुटपिटको घटना हुनु दुःखद हो। दोषीहरूमाथि कारबाहीको लागि समितिबाट सरकारको ध्यानाकर्षण भएको छ।’ 

कांग्रेस महामन्त्री गगन थापाले एनपिएलको फाइनलमा उच्छृंखल गतिविधि जोकोहीबाट भए पनि कारबाही गर्न सरकारसँग माग गरेका थिए। सोमबार नै जसपा नेपाल र लोसपा नेपालले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।