जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलन र ठगी आरोपमा आइतबार आठ कम्पनीसहित ४४ जनाविरुद्ध अभियोग-पत्र दायर गरेसँगै सोमबार आरोपीहरूसँगको बयान सुरु भएको छ।
अभियोग-पत्रको मिसिल अध्ययनपछि बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। उनका अनुसार सोमबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीबाट बयान थालिएको छ।
आइतबार सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउँदै पूरक अभियोग-पत्र अदालतमा दर्ता गरेको थियो। ४४ जनामध्ये पाँचजना हाल कास्की प्रहरीको हिरासतमा छन्। हिरासतमा रहेका पाँचजनासँग अदालतले बयान लिन सुरु गरेको हो। अधिकारीका अनुसार जोशीको बयान सकिएपछि क्रमशः अन्यको बयान लिइनेछ। बयान सकेलगत्तै थुनछेक बहस सुरु हुने र त्यसपछि मात्र उनीहरूलाई कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने आदेश हुनेछ।
४४ जनामध्ये रास्वपा सभापति लामिछानेसँगै जोशी, गुल्मी मुसिकोट नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१५, खुमलटार बस्ने लीला पछाई, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका–८, बगालेफाँटका रामबहादुर खनाल र पोखराका कृष्णबहादुर गुरुङ कास्की प्रहरी हिरासतमा छन्। उनीहरूमध्ये जोशी ६ असोजमा, लामिछाने २ कात्तिकमा, पछाईलाई १५ असोजमा, खनाल ९ कात्तिकमा र गुरुङलाई कतार उड्न लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट २१ मंसिरमा प्रहरीले पक्राउ गरेको थियो।
यसअघि १८ असोज ०८० मा १९ जनाविरुद्ध एक अर्ब ११ करोड १९ लाख बिगो माग गर्दै अभियोग-पत्र दर्ता भएकोमा शुक्रबार उनीहरूविरुद्ध पूरक अभियोग दर्ता गर्दै बिगो बढाएर एक अर्ब ५१ करोड ४० लाख पुर्याइएको थियो। साथै, सजायसमेत थप गरिएको थियो। सुरुका १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोग दर्तापछि आइतबार थप ४४ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग-पत्र दर्ता गरेको हो।
उनीहरू पाँचजनामध्ये सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछाने, पूर्वडिआइजी जोशी र खनालका विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको अभियोग लगाएको छ। पछाईंलाई सहकारी ठगी, संगठित अपराध, राष्ट्र बैंक ऐन, ०५८ र सम्पति शुद्धीकरणसँगै मुलुकी संहिताअनुसारको सजायको मागदाबी गरेको छ। गुरुङलाई भने सहकारी ठगीको अभियोग लगाइएको छ।
मुद्दा नेपालकै कान्छा न्यायाधीशको इजलासमा ४४ जनाको मुद्दा नेपालकै कान्छा न्यायाधीशको इजलासमा परेको छ। इजलास बस्नका लागि दैनिक पेसी सूचीको लागि गोला प्रक्रिया गर्ने क्रममा ४४ जनाको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको हो।
३५ वर्षका राई उमेरले देशकै कान्छा अर्थात् कम उमेरका न्यायाधीश हुन्।
देशका दुई सय ८२ जिल्ला न्यायाधीशमध्ये दुई सय ४५औँ वरीयतामा रहेका राई गत असारमा भएको परीक्षा उत्तीर्ण गरेर न्यायाधीश नियुक्ति भएका थिए। अदातलका कर्मचारीका अनुसार नियुक्ति भएपछि राईले हेर्न लागेको यो सबैभन्दा ठुलो मुद्दा हो।