
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिबाट ढिलाइ हुन नहुने बताएका छन् । पाँँचदिने जापान भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताएका हुन् ।
‘जनताका प्रतिनिधिले संसद्बाट पास गरिसकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न हुँदैनथ्यो । जे होस्, प्रमाणीकरण गर्नुहुनेछ भन्ने विश्वास छ,’ प्रचण्डले भने । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि १५ साउनमा राष्ट्रपति कार्यालयमा पुगेको थियो । संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने राष्ट्रपतिलाई समयसीमा छ । तर, विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहेकाले एकाथरीले राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने चर्चा गर्न थालेका छन् । विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहँदा राष्ट्रपतिलाई भेटेर नागरिक समाजका कतिपय अगुवा, विभिन्न संस्था र साना पार्टीले भेटेर विधेयक प्रमाणीकरण नगर्न सुझाब दिँदै आएका छन् ।
माओवादी केन्द्रसम्बद्ध जनप्रगतिशील मञ्च जापानको निमन्त्रणमा २१ साउनमा प्रचण्ड जापान गएका थिए । बसाईका क्रममा जापानको विकास र समृद्धिलाई आफूले नजिकबाट अनुभूति गर्ने अवसर पाएको प्रचण्डले बताए । भ्रमणका क्रममा उनले दोस्रो विश्वयुद्धले ध्वस्त बनाएको हिरोसिमा र नागासाकीमा रहेको शान्ति संग्रहालय अवलोकन गर्नुका साथै त्यहाँ नेपालीद्वारा आयोजित विभिन्न कार्यक्रम र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रचण्ड सहभागी भएका थिए ।