मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Tuesday, 11 March, 2025
२o७९ जेठ ३ मंगलबार o७:५३:oo
Read Time : > 3 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

झापाका तीन स्थानीय तहमा रोकियो मतगणना 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार o७:५३:oo

दलीय विवादले सर्लाही, पाल्पा, कञ्चनपुर, उदयपुरमा पनि मतगणना प्रभावित

झापाका शिवसताक्षी नगरपालिका, गौरीगन्ज र कमल गाउँपालिका गरी तीन ठाउँमा मतगणना रोकिएको छ । गठबन्धन दल र एमालेबीच गणनाका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।

गौरीगन्ज गाउँपालिकामा खसेको मतको मुचुल्का र गणना गर्दा मतपेटिकामा भएको मतपत्रमा फरक आएपछि गणना अनिश्चितकालका लागि स्थगित भएको हो । सोमबार सर्वदलीय बैठकबाट सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेपछि गणना स्थगित भएको गौरीगन्जका सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । ‘मतपत्र सुरक्षित गर्न सबै दललाई राखेर सिल गरेका छौँ । तत्काल गणना हुने अवस्था छैन । सोमबारको सर्वदलीय बैठकले पनि कुरा मिलेन,’ उनले भने, ‘अब मंगलबार पनि सर्वदलीय बैठक राखेर सहमतिको प्रयास गरिनेछ ।’ 

यस्तै, कमल गाउँपालिकामा सोमबार रातिदेखि मतगणना स्थगित भएको छ । वडा नम्बर ४ को मतगणना हुँदै गर्दा कम्प्युटर अपरेटरले एमालेको मत बढाए। जोडेको भन्दै गठबन्धन दलले विरोध गरेपछि मतगणना स्थगित भएको हो । गणनास्थललाई सिल गरिएको छ । गठबन्धनमा आबद्ध दलले पुनः मतगणनाको माग राखेका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हु्कुमसिंह राई अग्रता लिइरहेका छन् ।

शिवसताक्षी नगरपालिकामा पनि आइतबार रातिदेखि मतगणना स्थगित भएको छ । वडा नम्बर १ को परिणाम सार्वजनिकपछि मतदानको दिन बनाइएको मुचुल्का र गणनामा भएको मतपत्रको संख्यामा फरक आएपछि माओवादी केन्द्रसहित केही दलले आपत्ति जनाएका छन् । आइतबार राति निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजीसमेत भएको थियो । वडा नम्बर १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भइसकेका छन् । तर, निर्वाचनमा तीन हजार ८२ मत खसेको मुचुल्का भए पनि गणनाको समयमा तीन हजार २८ मत मात्र गणना भएको भन्दै विरोध भएको थियो । दलहरूको विरोधपछि शिवसताक्षीमा निर्वाचन अधिकृतलाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए । सोमबार रातिसम्म वार्ता भए पनि कुनै सहमति जुट्न सकेन ।

हरिवनमा एक मतले हारजित भएपछि विवाद
हरिवन नगरपालिकाको एउटा वडामा एक मतले हारजित भएपछि विवाद सिर्जना भएको छ । विवादपछि अहिले मतगणना रोकिएको छ । हरिवन नगरपालिका–७ को वडाध्यक्षमा एक मतअन्तरले एमालेका निरध्वज कार्की विजयी भएका थिए ।  

पाल्पाको रम्भामा शनिबार साँझदेखि मतगणना ठप्प
रम्भा गाउँपालिकामा फर्जी मतको विषयमा विवाद हुँदा शनिबार बेलुकादेखि मतगणना रोकिएको छ । मतगणना गर्ने विषयमा गठबन्धन दल र एमालेबीच सहमति हुन सकेको छैन । रम्भा गाउँपालिका–५ ताहुँको मतगणना गर्नेक्रममा ७४ वटा फर्जी मत भेटिएको थियो । मतपेटिका ढुवानी गर्दा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको, एकपक्षीय प्रतिनिधिहरूलाई प्रवेश दिइएकोलगायतका कारण औँल्याउँदै गठबन्धनका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका हुन् । 

सत्तारूढ गठबन्धनमा आबद्ध माओवादी, कांग्रेस र एकीकृत समाजवादी तथा मंगोल नेसनलले छलफलमा बस्नसमेत नमानेका कारण समस्या भएको छ । दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति राखी पुनः मतदानको माग राखेका छन् । रम्भाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले सहमतिको प्रयास जारी रहेको, तर गठबन्धनका नेताले वार्ताका लागि समय नदिएका कारण थप समस्या भएको बताए । उनले मंगलबार बिहानका लागि बैठकको तयारी भएको र त्यसबाट सहमति खोजिने जानकारी दिए । 

कृष्णपुरमा पनि मतगणना स्थगित 
कञ्चनपुरको भीमदत्त नगरपछि कृष्णपुर नगरमा पनि मतगणना रोकिएको छ । कृष्णपुर नगरपालिका–९ मा खसेको मतभन्दा बढी मतपत्र देखिएपछि दलहरूले मतगणना रोकेका छन् । कांग्रेसबाहेकका दलले सोमबार बिहान ११ बजेदेखि मतगणना अवरुद्ध गरेका हुन् । एकीकृत समाजवादी कृष्णपुरका सचिवालय सदस्य कुवेर खड्काले कुल खसेको मतभन्दा बढी देखिएपछि मतगणना बहिष्कार गरेको बताए । 

मतपत्र च्यात्ने कांग्रेस सचिव प्रहरी नियन्त्रणमा 
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ को वडाध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेसका कार्यकर्ताले दुईवटा मतपत्र च्यातेका छन् । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि सोमबार मतगणनास्थलमा तनाव सिर्जना भएको थियो । मतपत्र च्यात्ने ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख शुकदेव खनालले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ ।  

उदयपुरका त्रियुगा र कटारीमा मतगणना अन्योलमा 
उदयपुरका त्रियुगा र कटारी नगरपालिकामा मतगणना अन्योलमा परेको छ । कहिलेबाट गणना गर्ने भन्ने कुनै टुंगो नलागेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । कटारी नगरपालिका–१० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गर्नेक्रममा अराजक समूहले बुथ कब्जा गर्न खोजेको भन्दै प्रहरीले गोली चलाएको थियो । गोलीबाट एकको मृत्यु भएको थियो । एक घाइते भएका थिए । त्यसपछि स्थानीयको अवरोधकै कारण अझै पनि मतगणना सुरु हुन सकेको छैन । 

त्रियुगा नगरपालिका–१२ को जनप्रेमी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको विवादले त्रियुगाको मतगणना रोकिएको छ । गत ३० वैशाखमा मतदानकै क्रममा मतदान अधिकृतहरूले मनमौजी गरेको भन्दै उम्मेदवारहरूका प्रतिनिधिले मतदान अधिकृतमाथि प्रश्न गरेपछि मतदानकै क्रममा स्थगित भएको थियो । 

चंखेली गाउँपालिकामा  पुनः मतदान हुने
हुम्लाको चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा रोकिएको मतदान पुनः हुने भएको छ । ३० वैशाखमा सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान पुनः गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिए । 

स्थगित भएका १० मतदानस्थलमा निर्वाचन सम्पन्न 
दलीय विवादले ३० वैशाखमा स्थगित भएका १० मतदानस्थलमा आइतबार र सोमबार निर्वाचन सम्पन्न भएको छ । बाँकी ३० मतदानस्थलमा पनि निर्वाचनको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । ४१ मतदानस्थलका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित तथा रद्द भएको थियो । ११ मतदानस्थलमा निर्वाचन भइसकेको र बाँकीमा पुनः मतदानको तयारी भइरहेको आयोगले जनाएको छ । बाजुराका दुई स्थानीय तहको हकमा भने आयोगले आयुक्त सागरशमशेर जबराको नेतृत्वमा छानबिन गरिरहेको छ । बुढीगंगा र बुढीनन्दामा एमालेले बुथ कब्जा गरेको अन्य दलले आरोप लगाएका छन् । असुरक्षाका कारण त्यहाँ सुरक्षाकर्मीले नै मतदानस्थल छाडेर भागेका थिए ।