
सेयर बजारमा आउन सकेन सुधार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३७ दशमलव शून्य ६ अंकले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ बिन्दुमा आइपुगेको छ । नेप्सेमा आएको भारी गिरावटसँगै खरिददारहरू हाबी भएका छन् । विशेष गरी ठूला लगानीकर्ता सेयर मूल्य निकै सस्तो भएको हुँदा हाबी भएका हुन् ।
एक ब्रोकर भन्छन्, ‘साना लगानीकर्ता बाहिरिइरहेका छन् भने ठूला लगानीकर्ता सेयर खरिद गरिरहेका छन् ।’ चुनावी समयमा बजार बढ्ने अपेक्षा राखेका लगानीकर्ता १६ महिनायताकै न्यूनतम बिन्दुमा बजार पुगेपछि निराश देखिएका हुन् । ‘चुनाव नजिकिँदै गएको छ, बजार निरन्तर घटेको छ, साना लगानीकर्ता आत्तिएका छन् भने ठूला लगानीकर्ता सम्हालिएर सेयर खरिद बढाइरहेका छन्,’ ती ब्रोकरले भने ।
यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको भन्दा ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर आठ करोड ४५ लाख रुपैयाँको खरिद–बिक्री भएको छ ।
कम्पनीमा आएको १ प्रतिशतभन्दा बढीको गिरावटसँगै सो कम्पनीको सेयरमा किनबेच बढेको हो । एनआइसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी कम्पनीको सेयर चार करोडदेखि ६ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् ।
फाइनान्स समूह, जलविद्युत् समूह, लगानीगत समूह, जीवन बिमा समूह र निर्जीवन बिमा समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् । अन्य समूहका सूचक एक प्रतिशतभन्दा केही बढीले घटेका छन् । बिहीबार एक सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको बढेको छ ।