मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ८ बिहीबार ०७:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बहुराष्ट्रिय कम्पनी विश्व विभाजनको औजार बन्नुहुँदैन 

देश/परदेश

Read Time : > 2 मिनेट
२०७९ बैशाख ८ बिहीबार ०७:४७:००

प्रतिस्पर्धा र टकरावका सन्दर्भमा वासिंगटनले बहुराष्ट्रिय निगमलाई भूराजनीतिक लक्ष्य प्राप्त गर्न एक अनुकूल उपकरणका रूपमा हेरेको छ

रूस–युक्रेन द्वन्द्व थप चर्किंदै गएको छ । युक्रेनी मिडियाले एकाएक रुसका सबै सैन्य एवं रणनीतिक क्षेत्र अब गुगल म्यापमा करिब शून्य दशमलव पाँच मिटर प्रतिपिक्सेलको रिजोलुसनमा हेर्न सकिन्छ भन्ने खुलासा गरेका छन् । यी रणनीतिक क्षेत्रमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल माइन्स, कमान्ड पोस्ट र गोप्य ल्यान्डफिलहरू समावेश छन् । तर, लगत्तै गुगलले यी खुलासालाई अस्वीकार गरेको छ । ‘हामीले रुसमा स्याटेलाइट इमेजरीमा कुनै पनि परिवर्तन गरेका छैनौँ,’ गुगलका प्रवक्ताले बताएका थिए । अमेरिकी सञ्चार माध्यमले ती तस्बिर युक्रेन संकटअघि नै गुगल म्यापमा उपलब्ध भएको बताएका छन् ।

उल्लिखित खुलासामा सत्यता भए पनि रुस–युक्रेन सम्बन्धमा यसको प्रभाव खासै पर्नेछैन । आजको सैन्य स्याटेलाइट प्रविधि धेरै विकसित छ र धेरै ठुल्ठूला सैन्य सुविधा पहिले नै पारदर्शी छन् । त्यसकारण गुगलबाट ‘अतिरिक्त प्राविधिक सहयोग’को आवश्यकता पर्दैन । तर, यस विषयमा धेरैले ध्यान दिएका छन् किनभने यसले युद्धको परिधिलाई विस्तार गरेको छ, जहाँ कूटनीति, व्यापार, वित्त, सूचना, जनमतजस्ता परम्परागत सैन्य प्रतिस्पर्धाको क्षेत्रलाई नाघिएको देखिन्छ ।

यो प्रक्रियामा बहुराष्ट्रिय निगमको भूमिका थप स्पष्ट हुँदै गएको छ भन्ने देखिन्छ । अमेरिकी सञ्चारमाध्यमको तथ्यांकअनुसार रुस–युक्रेन द्वन्द्वपछि सेल र एक्सनमोबिलजस्ता ठूला ऊर्जा कम्पनी, बोइङजस्ता हवाईजहाज कम्पनी, एप्पल, माइक्रोसफ्ट, इन्टेल, ट्विटरलगायत टेक्नोलोजी कम्पनीले रुसलाई विभिन्न ढंगले दबाब दिइरहेका छन् । अर्को शब्दमा भन्ने हो भने अमेरिकी बहुराष्ट्रिय निगम विशेषगरी ठूला इन्टरनेट कम्पनी, जो ठूलो मात्रामा जानकारी र डाटा ग्रहण गर्छन्, ती ‘हतियार’ बन्ने उच्च जोखिममा छन् ।

‘राजनीति राजनीति नै होस् र व्यापार व्यापार नै होस् ।’ यो आदर्श वाक्यलाई धेरै मानिसले ‘अमेरिकी मूल्य–मान्यता’ भनेर बुझ्ने गरेका छन् । आदर्श आफ्नो ठाउँमा छ, तर वास्तविकता गम्भीर छ । बहुराष्ट्रिय निगमका छनोट हेर्दा केही अपवादबाहेक सबै अमेरिकी बहुराष्ट्रिय निगमले अमेरिकी सरकारसँग पूर्ण रूपमा तालमेल गरेका छन् । यद्यपि यी बहुराष्ट्रिय निगम वासिंगटनको राजनीतिक औजार बन्न इच्छुक नै छन् भन्नचाहिँ सकिँदैन । स्पष्ट रूपले भन्ने हो भने बहुराष्ट्रिय निगमहरू ‘राजनीतिक रूपमा बाध्यकारी’ सम्बन्ध बनाइरहेका छन् । निःसन्देह यसका धेरै कारण छन् ।

हालका वर्षमा केही अमेरिकी बहुराष्ट्रिय निगमका कार्यकारीले भूराजनीतिमा गहिरो चासो देखाएका छन् र बारम्बार ‘रेखा नाघिरहेका’ छन् । सम्भवतः व्यापार र प्रविधिको सफलताले यी कार्यकारी वैचारिक क्षेत्रमा बलियो हुँदै गएका छन् । र, अवश्य पनि यिनको व्यापारिक स्वार्थलाई नकार्न सकिँदैन ।

उदाहरण, रुस–युक्रेन द्वन्द्व सुरु भएपछि गुगलले रुसविरुद्ध प्रतिबन्धात्मक कारबाहीको शृंखला नै चलायो, अर्थात् गुगल ट्रान्सलेटले एकपटक ‘प्रिय रुसी’लाई ‘मृत रुसी’ अनुवाद गर्ने विकल्पको प्रस्ताव गरेको थियो । स्वाभाविक रूपमा यसले रुस–युक्रेनको स्थितिमा खासै प्रभाव पार्नेछैन । तर, यो एक राजनीतिक हत्कण्डा हो, जहाँ ‘पक्षको छनोट’ गरेर पश्चिमा जगत्लाई मान्यता दिइएको छ ।

‘पक्षको छनोट’बाट अलग्गिन खोज्ने केही बहुराष्ट्रिय निगम अपवाद बने पनि, प्रतिस्पर्धा र टकरावका सन्दर्भमा वासिंगटनले बहुराष्ट्रिय निगमलाई भूराजनीतिक लक्ष्य प्राप्त गर्न एक अनुकूल उपकरणको रूपमा हेरेको छ । एमेजोनका संस्थापक जेफ बेजोसले ‘यदि ठूला प्राविधिक कम्पनी अमेरिकी रक्षा विभागका लागि काम गर्छन् भने यसले मुलुक समस्यामा पर्नेछ’ भनेका थिए । ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्मका नियमले तथाकथित ‘गैरलोकतान्त्रिक’ मुलुकका घरेलु राजनीतिक उथलपुथलमा आगो झोस्ने काम गर्छन् र यी सञ्जाल ‘कलर रेभोलुसन’जस्ता राज्यविरोधी विप्लवसँग पनि अस्पष्ट ढंगले जोडिएका छन् ।

अमेरिका र पश्चिमका बहुराष्ट्रिय निगम अभूतपूर्व ढंगले रुस–युक्रेन द्वन्द्वमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छन् । युक्रेनमा अमेरिकी सेना तैनाथ गरिएको छैन, यद्यपि वासिंगटनले अक्टोपसको जस्तो व्यवहार गरिरहेको छ, अर्थात् चारैतिर प्रभाव पार्ने गरी आफ्नो फणा फैलाइरहेको छ । सूचना युद्ध र जनमतलाई प्रभाव पार्न मनोवैज्ञानिक आक्रमणका अतिरिक्त बहुराष्ट्रिय निगमले हतियार आपूर्तिदेखि गुप्तचर सेवा आदानप्रदान गर्न र दीर्घकालीन आर्थिक प्रतिबन्ध लागू गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । अमेरिकाले उपलब्ध सबै स्रोत परिचालन र उपलब्ध सबै साधन प्रयोग गरेर गराएको यो ठूलो भूराजनीतिक द्वन्द्वमा पश्चिमा बहुराष्ट्रिय निगमलाई वासिंगटनले विश्वलाई विभाजित गर्न सह–पाइलटको भूमिकामा बाँधेको छ ।  

यसको मतलब वासिंगटनले यी स्रोतलाई अनिश्चित कालका लागि परिचालन गर्न सक्छ भन्नेचाहिँ होइन, किनभने वासिंगटनका यस्ता हर्कतको अर्थ विश्वव्यापीकरणलाई उल्ट्याउनु हो । यी बहुराष्ट्रिय निगमलाई जबर्जस्ती एवं अत्यधिक प्रयोग गरेर विश्वव्यापीकरणलाई प्रवद्र्धन गर्ने प्रमुख आर्थिक शक्तिबाट विश्वलाई विभाजित गर्ने राजनीतिक ‘साझेदार’ बनाउन खोज्नुले ती कम्पनीको दीर्घकालीन हितलाई मात्रै हानि नभई अमेरिका समेतका लागि प्रत्युत्पादक हुनेछ । 

(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको ७ वैशाखको सम्पादकीय) 
ग्लोबल टाइम्सबाट