मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Thursday, 19 December, 2024
कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ वैवाहमा नेपाली किसान मानसिंह नेपालीले आफ्नो खेतमा तारबार लगाउँदा भारतीय पक्षको अवरोध 
मोहन विष्ट कञ्चनपुर
२o७९ बैशाख ७ बुधबार १o:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैवाह सीमा क्षेत्र : नेपाली किसानले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीयको अवरोध 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार १o:१५:oo

कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा झमेला भएको छ । बेलडाँडी गाउँपालिका– ३ वैवाहका नेपाली किसान मानसिंह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको छ । नेपाल–भारत सीमा पिल्लर ७८५ क्षेत्रमा पर्ने नेपाली किसानको जमिनमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

बेलडाँडी गाउँपालिका– ४ वैवाहका युवा दिलु शर्माले भारतीय पक्षबाट नेपाली किसानले आफ्नै जमिनमा वस्तुभाउबाट खेतीपाती जोगाउन तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बताए । उनले आफ्नै जमिनमा तारबार लगाउँदासमेत भारतीय पक्षबाट अनावश्यक हस्तक्षेप गरिएको बताए । 

बेलडाँडी गाउँपालिका– ३ का वडाध्यक्ष दुर्गा चौधरीले उक्त जमिन वर्षौँदेखि नेपाली नागरिक मानसिंह नेपालीले उपभोग गर्दै आएको र अहिले तारबार लगाउने क्रममा भारतीय पक्षबाट हटाउन दबाब  गरेपछि नेपाली पक्षबाट तारबार उखेलिदिएको बताए । ‘०७६ सालअघि मानसिंह नेपालीको खेतमा पिल्लर थिएन, ‘वडाध्यक्ष चौधरीले भने, ‘यो पिल्लर पहिले नालापारि थियो, संयुक्त सर्भे टोलीले उनकै खेतमा गाडिदिए, अहिले खेतीपातीका लागि तारबार गर्दा भारतीय पक्षबाट अवरोध आएर नेपाली पक्षबाटै तारबार उखेलिदिएको छ ।’ यस विषयमा कञ्चनपुर प्रशासनसँग छलफल गरिने अध्यक्ष चौधरीले बताए । ‘पहिलो दिन मोटरसाइकलमा दुई एसएसबी आएर यो अन्तर्राष्ट्रिय मामला हो भन्दै फर्किए, दोस्रो दिन पनि एसएसबीसहित सशस्त्र प्रहरी आए एसएसबीले अन्तर्राष्ट्रिय मामला भन्दै थिए, सशस्त्र प्रहरीले उखेलिदिए ।’ 

जमिनधनी मानसिंह नेपालीले एकातिर वस्तुभाउको समस्या अर्कातिर अन्तर्राष्ट्रिय सीमा भएकाले आफू मारमा परेको बताएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको आदेशमा सशस्त्र प्रहरीले तारबार हटाएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले नेपाली नागरिकले सीमा पिल्लर नेपालतर्फ पार्ने गरी तारबार लगाएकाले भारतीय पक्षले हटाउन दबाब दिएको बताए । ‘त्यो जमिन पहिल्यैदेखि नेपाली किसानले कमाउँदै आएका रहेछन्,’ उनले भने, ‘सीमा क्षेत्रमा जहाँ जसले कमाइ खाएका छन्, खान दिने हो, सीमा पिल्लरभित्र पार्ने गरी तारबार नै लगाएपछि भारतीय पक्षले हटाउन निरन्तर दबाब दिँदै आयो ।’ स्थानीयले भारतीय रवैया र सीमा अतिक्रमण गर्न आफ्नै जमिनमा समेत काम गर्दा अवरोध गरेको भन्दै भारतीय कदमको भर्त्सना गरेका छन् ।