प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन्। मंगलबार नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्न नहुने बताए।
‘गठबन्धन भनेपछि गिभ एन्ड टेक हुन्छ। तपाईंलाई सबै कुरा दिनलाई त गठबन्धन बनेको होइन नि। उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो। ठीक छ, कांग्रेस पार्टी ठूलो पार्टी छ, ठूलै पार्टी होस्। सानो पार्टी हामी पनि हुन पाउँ भनेका छन् उनीहरूले। उनीहरूको अधिकार हो नि। त्यति पनि नपाएर हुन्छ त्यो। एउटा षड्यन्त्र हुँदै छ गठबन्धन तोड्ने। कुनै हालतमा तोड्नुहुँदैन भन्ने मेरो धारणा छ। यसमा सबै साथीहरूले ठाउँ–ठाउँमा भन्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने।
गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरूमा मुख्यमन्त्री पाएको भन्दै उनले गठबन्धनको पक्षमा बोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। देउवाले नेपालको संविधानअनुसार पनि एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेको उल्लेख गर्दै कोही न कोहीसँग मिल्नैपर्ने बाध्यता रहेको स्पष्ट पारे।