कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला हुने भएको छ। बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ हुने भएको हो।
‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ नारासहित तेस्रो संस्करणमा मेला सञ्चालन हुन लागेको हो। ८ पुस ०८१ देखि बेलौरी नगरपालिका–४, बेलौरीको खुला मञ्चमा व्यापार मेला हुने आयोजकले जनाएको छ। वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सहआयोजनामा मेला सञ्चालन हुन लागेको हो।
बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीयस्तर उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने रहेको आयोजकले जनाएको छ। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला सञ्चालन गर्न लागिएको बताए।
महोत्सवमा ९० वटा स्टल रहनेछन्। अध्यक्ष विष्टका अनुसार स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानले आफ्ना जैविक उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछन्।
महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि एक सय, विद्यार्थी सहुलियतसहित ६० रुपैयाँ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि प्रवेश निःशुल्क गरिएको छ। महोत्सव १०दिनसम्म चल्नेछ।