मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार २o:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

हिउँदमा पनि हटेन बागमती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार २o:o७:oo

ललितपुरको सानेपास्थित बागमती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ। सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि वर्षातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।’

काठमाडौं उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरूलाई बागमती करिडोरले ठुलो राहत त दिएको छ। तर, कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि बागमती नदीको देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारीचालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन्। बर्खाका वेला जमेको पानी अझै हटेको छैन। दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ। उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारीसमाधान एकै लेनबाट ‘पास’ हुने गरेका छन्।

पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन्। उनले भने, ‘बागमती कारिडोरको स्तरोन्नति र बागमती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको हो, तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन।’

कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नुपरेको मोटरसाइकलचालक रत्नकुमार श्रेष्ठ सुनाउँछन्। उनले भने, ‘वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवार निकायले ध्यान नदिँदा सवारीचालक र पैदलयात्रीले झन्झट व्यहोर्नुपरिरहेको छ।’