पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको जिप दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। चालकले जिप रोकेर बाटो हेर्ने क्रममा सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। मृत्यु हुनेमा मुस्ताङ थासाङ गाउँपालिका–१, टुकुचेका ७० वर्षीया भीमकुमारी थकाली रहेकी छिन्।
ग१ज ६८२१ नम्बर उक्त जिप कास्कीको अन्नपूर्ण गाउँपालिका–१० विकासे डाँडामा रोकी चालकले बाटो हेर्ने क्रममा अचानक सडकबाट ६ सय मिटर तल खसेको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। गाडी भिरमा अड्केको थियो।
घटनापछि घान्द्रुक, प्रहरी चौकी वीरेठाँटी र वडा प्रहरी कार्यालय बगर पोखरा–१ बाट प्रहरी खटिएका थिए। गाडीमा सातजना सवार रहेकोमा उनीहरूमध्ये एकजनाको मृत्यु, चारजना घाइते र दुईजना सकुशल रहेका थिए। प्रहरीसँगै स्थानीयले घाइतेको उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारको लागि हेलिकोप्टरबाट पोखरा ल्याइएको छ।
घाइते हुनेहरूमा पोखरा महानगरपालिका–१६ का २० वर्षीया रिहाना थकाली, मुस्ताङ थासाङ गाउँपालिका–१, टुकुचेकी ३१ वर्षीया ज्योति खत्री थकाली, बाग्लुङ गलकोट नगरपालिका–१ झाँक्रीस्थानकी ७६ वर्षीया खिमकुमारी खत्री र बाग्लुङ गलकोट नगरपालिका–१ झाँक्रीस्थानकी नवीना खत्री रहेका छन्। उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
चालक स्याङ्जा भिरकोट नगरपालिका–२, डाँडाकोटका ४३ वर्षीय गोविन्द श्रेष्ठ र गाडीमा सवार बाग्लुङ गलकोट नगरपालिका–१, झाँक्रीस्थानका ४० वर्षीया अनिता खत्री सकुशल छन्।